२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन वर्षभित्र बन्नुपर्ने पुल साढे आठ वर्षमा जग मात्र निर्माण



अ+ अ-

सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ८ र ११ को सीमामा पर्ने मैनाबत्ती खोलाको पुल बन्न थालेको साढे आठ वर्ष पूरा भएको छ । तीन वर्षमै निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाइए पनि अहिलेसम्म जग मात्र तयार भएको छ । समयमा पुल नबन्दा स्थानीयवासी जोखिम मोलेर वर्षायाममा पनि मैनाबत्ती खोेला वारपार गर्न बाध्य छन् ।

गोलबजार–११ बलकवा गाउँ हुँदै बग्ने मैनाबत्ती खोलामा पुल नहुँदा करिब दुई किलोमिटरको दूरीमा पर्ने नगरपालिका केन्द्र जान, दैनिक किनमेल र बिरामीको उपचार गराउनसमेत कष्ट झेल्नु परिरहेको स्थानीय बासिन्दाको गुनासो छ । मैनाबत्ती खोला किनारस्थित भवरीमाता मन्दिरका पुजारी वीरेन्द्र साह भन्छन्, ‘पुल नहुँदा बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स ल्याउनसमेत समस्या छ ।’

गत २८ असारमा बल्कवाका छोटेलाल पासवानकी श्रीमतीलाई सुत्केरी बेथा लागेपछि अस्पताल लैजान बोलाइएको एम्बुलेन्सले मैनाबत्ती खोलामा आएको बाढीको भेल छिचोल्न नसकेको स्थानीय सोहेब अनवरले बताए । ‘सुत्केरी बेथाले छट्पटाइरहेकी महिलाको ज्यान नै जोखिममा पर्ने भएपछि पाँच–सातजनाको सहयोगमा खोला तारेर एम्बुलेन्समा गोलबजारसम्म ल्याइयो,’ उनले भने ।

मैनाबत्ती खोलामा पुल नहुँदा बाढीकै कारण गोलबजार क्षेत्रमा रहेका संस्थागत विद्यालयका विद्यार्थी घरमै बस्न बाध्य भएका थिए । ‘२७ र २८ असारमा आएको बाढीमा एम्बुलेन्ससमेत वारपार गर्न नसक्दा दुई दिनसम्म ठूलो संकट झेल्नुपर्‍यो,’ स्थानीय टेम्पोचालक श्रीलाल यादवले भने ।

निर्माणको माग गर्दै संघर्ष समिति
बल्कवा, तिलासी, गौरराहा, देवीपुरका बासिन्दा दैनिक हिँड्ने मैनाबत्ती खोलामा पुल निर्माण शीघ्र सम्पन्न गर्न स्थानीयले ८ साउनमा पुल निर्माण संघर्ष समिति गठन गरेका छन् । उद्योग व्यापार संघ गोलबजारका प्रवक्तासमेत रहेका स्थानीय सोहेब अनवरको अध्यक्षतामा गठन गरिएको ११ सदस्यीय समितिले पुल निर्माणका लागि दबाब दिन प्रधानमन्त्री कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिलगायतका निकायमा ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।

बाढीले पुलको जगसमेत पुर्‍यो
आर्थिक वर्ष ०६६/०६७ मा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारद्वारा शिलान्यास गरिएको मैनाबत्ती पुल निर्माणका लागि नेपाल प्रगति रायमाझी लोकवीर बेताली जेभीसँग २४ माघ ०६७ मा सम्झौता भएको थियो । सम्झौता भएको मितिले तीन वर्ष ९२४ माघ ०७०० भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने ठेकेदार कम्पनीले साढे आठ वर्ष लगाएर बनाएको पाँचवटा वेल फाउन्डेसन ९जग०समेत पछिल्लो बाढीले पुरेको छ ।

संघीय सुपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन लहानका साइट इन्जिनियर बेचनकुमार भण्डारीका अनुसार भ्याटसहित चार करोड ६० लाख ४७ हजार २१८ रुपैयाँमा ठेक्का सकारेको ठेकेदार कम्पनीले मोबिलाइजेसनबापत एक करोड ४७ लाख ९४ हजार १६८ रुपैयाँ भुक्तानी लिइसकेको छ ।

‘अहिलेसम्मको कामको प्रगति हेर्दा मुस्किलले ३२ प्रतिशत काम भएको छ,’ उनले भने, ‘अन्य बाधा–व्यवधान नआए एक वर्षको काम हो, तापनि निर्माण सुस्त देखिएको छ ।’ उनका अनुसार पाँचवटा वेल फाउन्डेसनमध्ये एउटा डिजाइनिङ रेखाभन्दा करिब ६० सेन्टिमिटर बाहिर गएको पाइएपछि त्यसलाई सुधार्न विभागको पुल महाशाखालाई लेखेर पठाइएको साइट इन्जिनियर भण्डारीले बताए । कुल ९१ मिटर लम्बाइ र २० मिटरको स्पान रहेको पुलको ढल्किएको वेल डिजाइनिङको रेखामा ल्याउन विभागले सिफारिस गरेपछि मात्र निर्माणको काम अघि बढ्न सक्ने उनको भनाइ रहेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।