
काठमाडौं । देशकै सबैभन्दा ठूलो र सत्ता हाँकिरहेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आफ्ना सबै संयन्त्र स्थापना गरी पार्टीलाई चलायमान बनाउन सकेको छैन । पार्टीलाई चलायमान बनाउन नसक्दा त्यसको असर सरकार सञ्चालनमा समेत परेको नेताहरूको गुनासो छ । पार्टी चलायमान हुन नसक्दा सरकारका राम्रा कार्यसमेत जनतासमक्ष सञ्चार हुन सकेका छैनन् । सबै संयन्त्र निर्माण भएर स्पष्ट दिशा लिन नसक्दा कार्यकर्तामा निराशा बढ्दो छ । कार्यकर्ताहरूले सरकारका कार्यको खुलेर प्रशंसा गर्नसमेत सकेका छैनन् ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भई निर्माण भएको नेकपामा पार्टीका नियमित कार्यक्रम नै हुन छोडेका छन् । त्यसैगरी, पार्टीभित्र सांगठनिक एकीकरण सम्बन्धमा व्यापक छलफल पनि हुने गरेको छैन भने बैठक पनि नियमित रूपमा हुन छोडेको छ ।
पार्टी केन्द्रीय कमिटीको बैठक अहिलेसम्म एकपटक मात्रै बसेको छ । निर्वाचन आयोगमा हस्ताक्षर बुझाउने प्रयोजनका लागि १४ महिनाअघि बसेको केन्द्रीय कमिटी बैठक त्यसयता एकपटक पनि बसेको छैन । स्थायी कमिटी बैठकसमेत नियमित रूपमा बसेको छैन ।
स्थायी कमिटी सदस्य गणेश साह एकता प्रक्रिया टुंगो लाग्न नसक्नु नै प्रमुख समस्या भएको बताउँछन् । ‘दुई ठूला कम्युनिस्ट पार्टीबीच एकीकरण त भएको छ तर नेतृत्वकै ढिलाइले भद्रगोलजस्तो देखिएको छ,’ साहले भने ।
‘एकताको काम छोडी शीर्ष नेता अन्य काममै व्यस्त भएकाले पार्टी भद्रगोलजस्तै बनेको छ,’ स्थायी कमिटी सदस्य साहले भने, ‘पार्टी एकताको बाँकी काम टुंगो लाग्न नसक्दा त्यसको प्रभाव सरकार सञ्चालनमा समेत देखिएको छ ।’
नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले कम्युनिस्ट पार्टी सांगठनिक रूपमा बलियो हुने गरेको भए पनि पछिल्लो समय नेकपाको अवस्था त्यस्तो नभएको बताइन् । ‘नेतृत्वकै अलमलले सांगठनिक एकता अझै टुंगो लाग्न सकेको छैन, अहिले केन्द्रीय कमिटीकै बैठक बस्दैन, स्थायी कमिटीको हालत पनि त्यस्तै छ, पोलिटब्युरो कमिटी पनि गठन भएको छैन,’ उनले भनिन् ।
पार्टीको बैठक नियमित नभएकाले कतिपय विषयमा अलमलजस्तो देखिएको बताउँदै उनले एकताका बाँकी काम टुंगो लाग्न नसक्नुमा नेतृत्वकै कमजोरी भएको बताइन् ।
एकतामा अलमल
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको १४ महिना पुगेको छ । अहिले पोलिटब्युरो कमिटी गठन, आयोग, विभाग गठनदेखि जनवर्गीय संगठनको एकता तथा बैठक लथालिंग अवस्थामा छ । लामो समयसम्म एकताको बाँकी काम टुंगो लाग्न नसक्नुमा शीर्ष नेताकै स्वार्थ रहेको नेताहरू बताउँछन् ।
नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले एकताको बाँकी काम छिटै नै टुंगो लाग्ने बताए । एकता टुंगो लगाउन ढिलाइ भएको स्वीकार गर्दै उनले छिटै नै सबै कमिटीको टुंगो लाग्ने बताए ।
नेकपाले अहिले सरकारको बागडोर सम्हालेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेका छन् । तर, सरकारको कामकारबाहीको समीक्षा, योजना निर्माण, सुझाव लिनेलगायतका काम पार्टीभित्र भएका छैनन् ।
सरकारलाई आवश्यक सल्लाह, सुझाव पार्टीले दिनुपर्ने नेकपा नेताहरू बताउँछन् । तर, बैठक नै नभएपछि सरकारलाई कसले र के सल्लाह दिने भन्ने प्रश्न उठेको एक नेताले बताए । सरकारको निर्णय, जनताको आवश्यकतालगायत विषयमा पार्टीमा कहीँकतै सल्लाह, छलफल नभएको नेकपाका नेता बताउँछन् ।
‘राजदूत नियुक्ति, मन्त्री बनाउने वा यस्तै महŒवपूर्ण विषयमा पार्टीमा छलफल हुनुपर्ने हो’ नेकपा एक नेताले भने, ‘तर पार्टीमा कहीँकतै छलफल नै हुँदैन, केही नेताको सिन्डिकेटकै आधारमा मनलाग्दी सरकार सञ्चालन भइरहेको छ ।’
सरकारका कतिपय निर्णय एवं काम राम्रा पनि छन् । तर, सरकारले गरेका ती राम्रा काम जनताबीच प्रचारप्रसार समेत हुन सकेका छैनन् । एकताकै अलमलले सरकारको काम गाउँगाउँसम्म प्रभावकारी रूपमा पुग्न नसकेको हो ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।












