
तनहुँ । म्याग्दे गाउँपालिका १ गुणादीका १५ वर्षीय कैलाश थापामा डेंगु देखा परेको छ । ज्वरो आएर दमौली अस्पताल भर्ना भएका थापामा शंकास्पद लक्षण देखिएपछि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ ।
परीक्षणपछि थापामा डेंगु देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख रमेश बाराकोटीले जानकारी दिए । ‘थापामा डेंगुको लक्षण देखियो,’ उनले भने, ‘विभिन्न ल्याब टेस्टपछि डेंगु पुष्टि भयो । आत्तिनुपर्ने जटिल समस्या छैन, उपचार भइरहेको छ ।’ गत वर्ष पनि जिल्लामा ६ जनामा डेंगुको संक्रमण देखिएको थियो ।
डेंगु लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । एडिज इजिप्टाई जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरूलाई टोकेमा यो रोग सर्छ । स्वास्थ्य कार्यालयले सबैलाई सचेतना अपनाउन आग्रह गरेको छ । विशेषगरी स्त्री जातिका एडिज लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु सर्ने चिकित्सक बताउँछन् ।
यो प्रजातिका लामखुट्टेले सफा जमेको पानीमा अन्डा पार्छ । घरको ट्यांकी छोप्ने, टायर, प्लास्टिकका भाँडामा पानी जम्न नदिने, घर वरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने र शरीर ढाकिने गरी कपडा लगाउने गर्दा डेंगुबाट जोगिन सकिने बाराकोटीले बताए । यस प्रजातिका लामखुट्टेका लार्भालाई नै नष्ट गर्न सकियो भने मात्र डेंगुबाट सुरक्षित हुने उनले बताए । ‘यी लामखुट्टेले बिहान र साँझपख मानिसलाई टोक्छ,’ उनले भने, ‘त्यसैले यसमा विशेष सावधानी अपनाउनुपर्छ ।’
टाउको दुख्ने, ज्वरो आउने, रिँगटा लाग्ने, जीउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरको मासु दुख्ने डेंगुका लक्षण हुन् । यस्ता लक्षण देखिनासाथ उपचारका लागि स्वास्थ्य संस्थामा जानुपर्ने प्रमुख बाराकोटीले बताएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।












