२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिशु नबाँचेपछि अस्पतालद्वारा साढे तीन लाख छुट



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्री बाल अस्पतालले उपचाररत शिशुको मृत्युपछि उनको उपचारमा लागेको साढे तीन लाख रुपैयाँ छुट दिएको छ । हेटौँडाकी सोनु तामाङकी ४५ दिनकी शिशु रेचेन तामाङको मृत्यु भएपछि अस्पतालले उपचार गर्दा लागेको खर्चमा छुट दिएको हो । अस्पतालले उनको उपचारमा पाँच लाखभन्दा बढी खर्च भएको जनाएको छ ।

रेचेनको बुधबार राति मृत्यु भएको हो । ज्वरोसँगै श्वासप्रश्वासको समस्या भएपछि उनलाई गत १७ असारमा मैत्री बाल अस्पताल भर्ना गरिएको थियो । सोनुकी दिदी कान्ति लामाले उपचारमा लागेको खर्च तिर्न नसक्ने अवस्था भएपछि अस्पतालले छुटसहित बच्चा दिएको बताइन् । ‘उहाँहरूले बिहीबार बिहानै बच्चा जिम्मा लगाउनुभयो । हामीले पशुपतिमा अन्त्येष्टि ग(यौँ,’ कान्तिले भनिन् ।

अस्पतालका निर्देशक डा. शान्त शाक्यले निजी अस्पताल भएकाले दैनिक १६ हजार रुपैयाँका दरले बिल उठेको बताए । उनले विपन्न परिवारका भएकाले शिशुको उपचारमा लागेको खर्चमा बाँकी नलिएको जानकारी दिए ।यसअघि तामाङ परिवारले अस्पताललाई डेढ लाखभन्दा बढी रकम तिर्न नसकेपछि शिशुलाई सरकारी अस्पतालमा लैजान आर्थिक सहयोगको अपिल गरेको थियो ।

मानवताका हिसाबले जिम्मा लगायौँ स् सुरेन्द्र डंगोल
प्रशासन प्रमुख, अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल
शरीरका मांसपेशीहरू राम्रोसँग नचल्ने भएका कारण बच्चाको श्वासप्रश्वासमा समस्या थियो । बच्चाको परिवारले सुरुमा एक लाख ५० हजार रुपैयाँ अस्पतालमा तिरेको थियो । बाँकी रकम जम्मा गर्न हामीले भन्दै आएका थियौँ, तर उनीहरूले सकेनन् । रकम जुटाउन नसके पनि हामीले बच्चाको उपचार निरन्तर गरिरहेका थियौंँ । उपचारकै क्रममा बुधबार राति निधन भएपछि उपचार खर्च मागेर शव रोक्ने कुरा भएन, त्यसैले लागेको रकम नलिई मानवताका हिसाबले परिवारको जिम्मा लगाएका हौँ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।