
रामेछाप । ‘१२ वर्षमा खोला फर्कन्छ’ भन्ने उखान रामेछापको सुकाजोर खोलामा चरितार्थ भएको छ । यो खोलामा १२ वर्षपछि पानी बढेकाले किसानलाई धान रोप्न चटारो छ । हाल सुकाजोरमा एक पानीघट्ट पनि चल्न थालेको छ ।
गोरुले वर्षौं बाँझो खेत जोत्न ढिला भएपछि किसानले डोजरले खनेर रोपाइँ थालेका छन् । ‘सुकाजोर खोला पलायो, जोलेआपभन्दा मुनिको खेतमा किसानले पानी लगाएका छन्,’ मच्छेडाँडीका किसान उपेन्द्र घिमिरेले भने, ‘यो वर्ष अनौठो भएको छ, हामीले सुकाजोरको खेत रोप्यौं ।’ बीउ र गोरुको तयारी नभएकाले केही किसानले भने रोपाइँ गर्न पाएनन् । १२ वर्षअघि सुकेको खोला जाग्ला भन्ने कल्पनै थिएन ।
सुकाजोर नामअनुसारकै सुक्खा थियो । जलवायु परिवर्तनले गर्दा सुकाजोर खोलामा पानी नबगी वर्षायाम सकिन्थ्यो । पानी बगिहालेमा भदौ असोजमा सानो बग्थ्यो । घिमिरे भन्छन्, ‘असार साउनमा धान रोप्नका लागि किसानले जसोतसो राखेको ब्याड सुकेर जान्थ्यो तर रोप्न सकिँदैनथ्यो ।’ लगातार ४र५ वर्ष ब्याड सुकेपछि किसानले धानको ब्याड राख्नसमेत छोडेका थिए ।
यो वर्ष सुकाजोर खोलामा बेलैमा पानी बग्यो । तर किसानलाई धान रोप्न बीउ थिएन । अलि पर रणजोर खोलाको पानीले खेत रोप्नका लागि राखेको बीउ उखेलेर उनीहरूले लगे । रणजोर खोलातिर पानी छैन । त्यसतर्फको ७० प्रतिशत खेत बाँझै छ । सुकाजोरमा झर्रा धान हुन्छ । जोलेआँपभन्दा केही माथिदेखि तामाकोसी दोभानसम्मको दायाँबायाँ करिब १ हजार रोपनी जग्गा खेतीयोग्य भएर पनि पानी नहुँदा बाँझो बसेको थियो ।
भ्यागुरे जरुवाभन्दा तलको खेत भने रोपाइँ हुन्थ्यो । योपटक भ्यागुरेभन्दा माथि पनि किसानले बाँझो बिराएर रोपेका छन् । स्थानीय ध्रुवप्रसाद सुवेदीका अनुसार सुवेदीले बिर्ता पाएपछिको करिब ३ सय वर्षको इतिहासमा यो वर्ष सानीमदौतर्फका खेतमा रोपाइँ हुन सकेको छैन ।
‘धानको बीउ ब्याडमै हुर्कियो, खोलामा थोपो पानी छैन,’ सुवेदी भन्छन् ‘सानीमदौ क्षेत्रका माझकुलो, तल्लोकुलो, उपल्लोकुलो, नागथान कुलो, चालिसेकुलो चलेका छैनन् । रणजोरको शिर घ्याप्चेमा पानी नपरेकाले यो वर्ष किसानले पुर्पुरोमा हात राखेका हुन्,’ उनले भने ।
कृषि ज्ञान केन्द्र रामेछापका अधिकृत पुरुषोत्तम रौनियारका अनुसार जिल्लामा हालसम्म करिब ७६ प्रतिशत खेतमा रोपाइँ भएको छ । उत्तरी रामेछापका अधिकांश क्षेत्रमा रोपाइँ भए पनि दक्षिणी क्षेत्र सुक्खा बसेको छ । जिल्लाको उत्तरी क्षेत्रमा तुलनात्मक रूपमा बढी वर्षा हुने गर्छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।












