२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मर्मत नगर्दा निगमलाई १६ करोड घाटा, दुई नयाँ मेसिन किन्न पुग्ने पैसा स्वाहा



अ+ अ-

काठमाडौं । नेपाल एयरलायन्सका न्यारोबडी जहाजको इन्जिन स्टार्ट गर्ने मेसिन (एक्ज्यिुलरी पावर युनिट– एपियू) बिग्रिएको ६ महिनासम्म पनि मर्मत गरिएको छैन । दुईवटा न्यारोबडीमध्ये ‘लुम्बिनी’को एपियू २६ माघ ०७५ मा बिग्रिएको थियो । अर्को जहाज ‘सगरमाथा’को एपियू पनि १५ जेठदेखि बिग्रिएको छ । तर, दुवै जहाजको एपियू समयमा मर्मत गर्नुको सट्टा ग्राउन्ड पावर युनिट(जिपियू) चलाउने र भाडा लिने काम गरेर व्यवस्थापनले नेपाल एयरलायन्सलाई करिब १६ करोड घाटा गराएको स्रोतले जानकारी दिएको छ । ‘दुईवटा जहाजमा दैनिक चारपटक जिपियू चलाउँदा, लुम्बिनी जहाजमा ल्याइएको एपियूको भाडा, भाडाको मेसिन जडान गर्न क्वालालम्पुर हुँदै सिंगापुर लैजाँदा–ल्याउँदाको इन्धन, उडान अनुमति, एयरस्पेस प्रयोगको शुल्क, पार्किङलगायतको खर्चसमेत गरेर करिब १६ करोड रुपैयाँ फजुल खर्च भएको छ,’ निगमको उच्च स्रोतले नयाँ पत्रिकालाई जानकारी दियो ।

एपियू जहाजको मुख्य इन्जिन स्टार्ट गर्ने र इन्जिन स्टार्ट हुनुअघि जहाजमा एयर कन्डिसनिङलगायत अन्य विद्युतीय उपकरण सञ्चालन गर्ने मेसिन हो । ‘अहिले अन्तर्राष्ट्रिय बजारमा नयाँ एपियू ८ करोड रुपैयाँभन्दा कम मूल्यमा नै पाइन्छ, तर नेपाल एयरलायन्सले भएको एपियू मर्मत नगरेर २ वटा नयाँ मेसिन किन्ने पैसा सकिसकेको छ,’ स्रोतले नयाँ पत्रिकालाई बतायो । अहिलेसम्म पनि एपियू मर्मत गर्न लगिएको छैन ।

जहाज किनेको ५ वर्षसम्म मर्मत गर्ने कम्पनी छनोट भएन
नेपाल एयरलायन्सले न्यारोबडी जहाज किनेको ५ वर्ष भइसक्यो । तर, यति लामो अवधिमा पनि एपियू मर्मत गर्ने कम्पनी (मेन्टेनेन्स एन्ड रिपेयर अर्गनाइजेसन– एमआरओ) छनोट नगर्नु नै आश्चर्यजनक भएको निगमका एक उच्च अधिकारीले बताए । ‘अझ मेसिन बिग्रिसकेपछि तत्काल एमआरओ छनोटको प्रक्रिया थालेको भए १ सय दिनभित्र एपियू मर्मत हुने थियो,’ उनले भने, ‘मर्मत गर्दा अधिकतम ५० हजार अमेरिकी डलर खर्च हुन्थ्यो होला, तर नियतवश निगमलाई १६ करोड घाटा गराइयो ।’

एमआरओ छनोटमा ढिलाइ भएकाले एपियू भाडामा (लोनमा) लिएर चलाउनुपरेको नेपाल वायुसेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दले बताए । ‘एमआरओ छनोटका लागि टेन्डर आह्वान भइसकेको छ, पहिलोपटक ४५ दिनको म्याद राखेर टेन्डर गर्दा एउटा कम्पनीको मात्रै निवेदन पर्‍यो, त्यसो हुँदा १५ दिन म्याद थपिएको छ,’ उनले भने, ‘यो प्रक्रियाबाट एमआरओ छनोट भएपछि मर्मतको काम हुन्छ ।’

जिपियू प्रयोग गर्दा र एपियू भाडामा लिँदा निगमलाई आर्थिक क्षति भएको विषयमा भने आफूलाई केही जानकारी नभएको उनले बताए । निगमका कार्यकारी अध्यक्ष मदन खरेल भने सम्पर्कमा आउन चाहेनन् ।

सगरमाथाको एपियू बिग्रेको २ महिना भयो, मर्मतको प्रक्रिया सुरु नै भएन
१५ जेठ ०७६ देखि ‘सगरमाथा’ जहाजको एपियूसमेत बिग्रिएको छ । एपियू बिग्रिँदा बाध्य भएर चलाउनुपर्ने जिपियूका लागि मात्रै निगमले ६४ दिनको अवधिमा ४ लाख ६० हजार ८ सय अमेरिकी डलर ९५ करोड ७ लाख रुपैयाँ० खर्च गरिसकेको छ । तर, अहिलेसम्म पनि सो जहाजको एपियू मर्मतका लागि निगमले चासो दिएको छैन ।

‘उड्डयन बजारमा एपियूजस्तो संवेदनशील मेसिनमा यति धेरै हेलचेक्र्याइँ गरेको अहिलेसम्म थाहा छैन,’ एयरलायन्सकै एक इन्जिनियरले भने, ‘सीमित व्यक्तिको आर्थिक स्वार्थ पूर्ति गर्न निगमलाई घाटा मात्रै भएको छैन, यात्रुको सुरक्षामा पनि गम्भीर खेलबाड गरिएको छ ।’

एपियू भाडामा लिँदा यसरी गरियो घोटाला ?
२६ माघमा नेपाल एयरलायन्सको एपियू बिग्रिएलगत्तै मर्मतको प्रक्रिया थाल्नुपर्ने थियो । तर, नेपाल एयरलायन्सले एपियू मर्मत गर्न कुनै पहल गरेन । एपियू बिग्रिएको १ सय २० दिन ९४ महिना०सम्म ग्राउन्ड पावर युनिट (जिपीयू) बाट जहाज सञ्चालन गर्न पाइने व्यवस्थाको दुरुपयोग गर्दै १ सय १८ दिनसम्म त्यसैगरी चलाइयो । त्यसमा मात्रै निगमको ९ करोड ३४ लाख ५६ हजार खर्च भयो । एपियू बिग्रेको १ सय २० दिनपछि जहाज उड्न नसक्ने भएपछि इमर्जेन्सी (एयरक्राफ्ट अन ग्राउन्ड) घोषणा गरेर १ सय १९औँ दिन २४ जेठमा विनाप्रतिस्पर्धा एपियू भाडामा ल्याइयो । ‘भाडामा ल्याउँदा पनि मेसिन नेपालमै ल्याएर आफ्नै इन्जिनियरले जडान गर्ने निर्णय भएको थियो, तर इन्जिनियरिङ विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले कसैलाई थाहै नदिई जहाज सिंगापुर लगेर भाडाको एपियू जडान गरेर ल्याए,’ निगम आन्तरिक स्रोतले नयाँ पत्रिकालाई जानकारी दियो । यस क्रममा आर्थिक चलखेल भएको आरोपमा श्रेष्ठमाथि निगमभित्रैबाट छानबिनसमेत भइरहेको छ ।

सिंगापुर लगेर भाडाको एपियू जडान गर्दा निगमलाई थप ८८ लाख ४२ हजार ९ सय रुपैयाँ खर्च लागेको छ । मलेसियाबाट सिंगापुरको उडान गर्दाको अनुमति तथा इन्धन खर्च, जहाज पार्किङ तथा मेन्टेनेन्स र कर्मचारीको खर्चसमेत गरेर ८० हजार ३ सय ९० अमेरिकी डलर खर्च भएको हो । सो एपियूको भाडामा मात्रै हालसम्म निगमले करिब ७० लाख रुपैयाँ खर्च गरिरहेको छ । ‘प्रतिदिन ७ सय ५० अमेरिकी डलर र प्रतिघन्टा सञ्चालनबापत थप ७९ डलर भाडा बुझाउनुपर्ने गरी एपियू ल्याइएको छ,’ स्रोतले भन्यो, ‘अहिलेसम्म ५६ दिनको भाडा मात्रै ७० लाख ५३ हजार खर्च भइसकेको छ ।’, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।