८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुँजी बजारबारे प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवारीपूर्ण विवेकशील साझा



अ+ अ-

काठमाडौं । पुँजी बजारबारे प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवारीपूर्ण भएको विवेकशील साझाले ठहर गरेको छ । विवेकशील साझा पार्टीले एक विज्ञप्ति जारी गर्दै पुँजी बजारका बारेमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै धितोपत्र बोर्ड साम्राज्यवादको विकसित रूप भनि दिनुभएको अभिव्यक्तिलाई पूर्णतः गैह्र जिम्मेवारपूर्ण र अनुत्तरदायी रहेको ठहर  गरेको हो ।

अर्थ मन्त्रालयसमेतको नेतृत्व गरेको पार्टीका नेताबाट यस्तो अभिव्यक्ति आउनु आपत्तिजनक अभिव्यक्ति भएको भन्दै खेद व्यक्त गरेको छ । पुँजी बजारका विषयमा वामपन्थी अझ खास गरी माओवादी पृष्ठभूमिका नेताहरूबाट पटक-पटक असहिष्णु टिप्पणी सार्वजनिक हुँदै आएको जनाउदै साझाले आफ्नो अभिव्यक्तिले बजारको मनोविज्ञानलाई कस्तो असर पार्छ भन्ने कुराको गहिरो हेक्का नराखी शेयर बजारलाई जुवा घर करार गर्ने देखि साम्राज्यवादको विकसित रूपको संज्ञा दिने कार्य उच्च राजनीतिक नेतृत्वमा रहेको अल्पज्ञान र सङ्कुचित सोचाइको उपज भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ- 'पुँजी बजार बजार कुनै बाह्य प्रभावविना आफ्नै लय र गतिमा चलायमान हुनुपर्छ। बजार दुर्घटनामा पर्‍यो भने अरू धेरै क्षेत्रमा गहिरो असर पर्छ र अर्थतन्त्र दुष्चक्रमा फस्न जान्छ। यस तथ्यलाई मनन गर्दै आफ्नो भनाई तत्काल सच्याउन र आइन्दा संवेदनशील र जिम्मेवार रूपमा प्रस्तुत हुन हामी नेता दाहाललाई सुझाव दिन्छौँ।'

त्यसै गरी, पुँजी बजारलाई नियमन गर्ने निकायहरू लामो समय नेतृत्वविहीन रहँदा नीतिगत काम कारबाही अलपत्र परेको छ भने बजारले उनीहरूबाट प्राप्त गर्ने ढाडस पाउन सकेको छैन। धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष र स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारीमा योग्य व्यक्ति अविलम्ब नियुक्त गर्न विवेकशील साझा पार्टी सरकारसँग माग गरेको प्रवक्ता शरदराज पाठकले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ- 'अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।'