२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

असारे विकास : भर्खर रोपेको धान खेत नष्ट गर्न डोजर चलाएपछि….



अ+ अ-

बझाङ । खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा बुधबार धमाधम रोपाइँ चलिरहेको थियो । हलिसारा (पहिलो रोपाइँ) गर्दा राम्रो उब्जनी हुने मान्यताका कारण एकै दिन अगासे खेतमा २० बढी परिवारको रोपाइँ हुँदै थियो । कोही खेत साउँदै (सम्याउँदै) थिए । कोही बेर्ना उखेल्दै थिए ।

बाउसेहरू इल्चा(खेतको डिँड) लगाउँदै थिए । केही खेतमा देउडा घन्काउँदै रोप्नेरी (रोपाहार महिला) हरू धान रोप्दै थिए । अगासे जिउलाको रौनक उत्सवमय थियो ।

दिउँसो १२ बजेतिर एकाएक खेतमा आउने कुलो सुक्यो । ‘कुलो भाँचिए’ पछि रोपाइँमा खटिएकाहरूको दौडादौड चल्यो । ‘कुलो बिग्रेको अनुमानमा किसानहरू रोपाइँ छाडेर बनाउन दौडिए,’ पाटादेवल कोसेडी खेतका दाने आग्रीले भने, ‘केटाकेटीले कुलो भाँचे होला भन्ने ठानेर फर्काउन गएका थियौं, त्यहाँ त २ वटा डोजर लगाएर कुलो ध्वस्त बनाइसकिएको रहेछ ।’

डोजरले सिँचाइ कुलो मात्र भत्काएन । २ वटा खानेपानीका पाइपलाइन, सय रोपनीभन्दा बढी भर्खर रोपेको धान खेतसमेत नष्ट गरिसकेको देखेपछि एकपटक आफू ‘पागलजस्तै भएको’ उनले बताए । ‘एक्कासि विध्वंस देख्दा मेरो होसहवासउड्यो, रिंगटा लागेजस्तो भयो, म त त्यहीँ थचक्क बसें,’ उनले भने । डोजरले कुलो भत्काइदिएपछि आधा रोपाइँ थालेका अगासे ज्युलाको रोपाइँ बन्द भएको छ । भर्खरै रोपेका खेतमा पानी नभएकाले धान सुक्ने भएको छ । रोप्नका लागि उखेलेको बीउ पनि सुक्न थालेपछि किसान अत्तालिएका छन् ।

दुई साताअघि निर्माण थालिएको छान्ना रिङरोड निर्माणका क्रममा ३ वटा खानेपानी आयोजनाको पाइपलाइनमा क्षति भएपछि साबिक पाटादेवल गाविसका कोसेडी खेत, तल्लो पुजारी गाउँ, तिउने र राजकोट गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ । स्थानीयवासी खोलाको धमिलो पानी खान बाध्य भएको भगाडी तिउने राजकोट खानेपानी आयोजनाका सचिव श्यामबहादुर थापाले बताए । ‘एकरडेढ घण्टा हिँडेर खोलाको पानी खान थालेका छौं,’ उनले भने, ‘रातारात विनाश मच्चियो, कुनै सरसल्लाह नगरी रोपेका खेतमा डोजर लगाए । गाउँ नै आतंकित भएको छ ।’

जथाभाबी डोजर चलाउँदा ०७४ चैतमा ३१ लाख लागतमा बनेको भगाडी तिउने राजकोट खानेपानी आयोजना, भर्खरै निर्माण सम्पन्न हुन लागेको ६० लाख लागतको खापर दुधिर खानेपानी आयोजना र ०६६ मा एसियाली विकास बैंकको आर्थिक सहयोगमा ९ लाख लागतमा बनेको ठण्डापानी पुजारी गाउँ तिउने खानेपानी आयोजनामा क्षति भएको उनले बताए । डोजरले कुलो भत्काएपछि गाउँलेको रोपाइँ बीचैमा रोकिएको स्थानीयले बताए । ‘आउरु–बाउरु (पर्मारखेताला) लगाएर बल्लबल्ल रोपेका खेतमा डोजर नचाए । धेरैको बिचल्ली हुने भएको छ,’ स्थानीय प्रेम आग्रीले भने, ‘पाटादेवलमा मात्र नभएर खप्तडछान्ना गाउँपालिकाका अन्य ठाउँका ८ वटाभन्दा बढी कुलोमा क्षति पुगेको छ । धेरै ठाउँको रोपाइँ प्रभावित भएको छ ।’

लम्तडा कालुखेती थामलेक चक्रपथ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्रबहादुर सिंहले ‘सडक निर्माण गर्दा केही क्षति हुनुस्वाभाविक भएको’ तर्क गरे । ‘जेठ १० गते सम्झौता भई असार ३ देखि काम थालेका थियौं । असार २५ पछि डोजर लगाउन मिल्दैन थियो,’ उनले भने,‘२५ गतेपछि गरेको कामको भुक्तानी नहुने भएकाले खेतमै डोजर चलाउनुपरेको हो ।’

उनले आफूहरू पनि त्यही सिँचाइ र खानेपानीका उपभोक्ता भएको बताउँदै क्षति भएका संरचना पुनर्निर्माण गर्ने सहमति भइसकेको दाबी गरे । ‘धनगढीबाट सिँचाइ र खानेपानी पाइप मगाइसकेका छौं । ५ दिनभित्र सबै मर्मत गरिदिने भनिसकेका छौं,’ उनले भने ।

साढे आठ किमि लामो उक्त सडक निर्माण क्रममा खप्तड छान्ना गाउँपालिकाको धानखोला, जागासैन, धन्नासी, धोडाखेत, कोटेखोलादेखि हलसारे, खोडी खेल्नालगायत ठाउँका सिँचाइ कुलोमा क्षति पुगेका कारण ती सबै क्षेत्रको रोपाइँ प्रभावित भएको भगाडी तिउने राजकोट खानेपानी आयोजनाका सचिव थापाले बताए । उनका अनुसार साविक कालुखेती गाविसका विभिन्न ठाउँमा बनेका सिँचाइका शाखा लाइनहरूमा पनि सडकले क्षति पुर्‍याएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।