
काठमाडौं । बर्ड फ्लुले तीन महिनाअघि एक युवकको मृत्यु भएपछि उनको नजिकका एक सय ७२ जनाको नमुना जापानमा परीक्षण गर्दा बर्ड फ्लु भाइरस नभएको पाइएको छ ।
गत १५ चैतमा काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुको संक्रमणका कारण उपचारका क्रममा मृत्यु भएको थियो । उनको उपचारमा संलग्न स्वास्थ्यकर्मी, साथीभाइ र परिवारका सदस्य गरी एक सय ७२ जनाको नमुना परीक्षणका लागि जापान पठाएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बर्ड फ्लु भाइरस संक्रमणको आशंका गरी जापान पठाएका सबै नमुनाका रिपोर्टमा बर्ड फ्लु भाइरस ‘एच ५ एन १’ नेगेटिभ देखिएको हो ।
जापानको डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशालामा परीक्षण गरिएको थियो । सो ल्याबले विश्व स्वास्थ्य संगठनलाई रिपोर्ट बुझाए पनि नेपालमा सार्वजनिक भएको छैन । विश्व स्वास्थ्य संगठनले सबै रिपोर्ट तयार पारेको र केही दिनमा सरकारलाई बुझाएपछि सार्वजनिक गरिने महाशाखाका निर्देशक डा।विवेक लालले बताए ।
मृतक युवकको जापानमा सोही ल्याबले बर्ड फ्लु ‘एच ५ एन १’ भाइरस भएको प्रमाणित गरेको थियो । त्यसपछि सरकारले विश्व स्वास्थ्य संगठनको समन्वयमा मृतकको घर–परिवार युवकको मृत्यु हुनुअघि र पछि सम्पर्कमा रहेका सातजना र उपचारमा संलग्न चिकित्सक, नर्स र अन्य कर्मचारी गरी एक सय ६५ जनाको नमुना संकलन गरी पठाइएको थियो ।
‘नेपालका अस्पतालमा एक बेडमा तीनजनासम्म बिरामी राखेर उपचार गरिन्छ । अचम्मको कुरा ती युवकको सम्पर्कमा रहेका कसैमा पनि बर्ड फ्लु पोजेटिभ देखिएन,’ डा।लालले भने । बर्ड फ्लु लागेका अधिकांश मानिसको मृत्यु हुने भए पनि विश्व स्वास्थ्य संगठनले नेपालमा भएको मृत्युपछि नियन्त्रण र नियमनमा सक्रियता देखाएको हो ।
सन् १९९६ मा बर्ड फ्लु भाइरस पत्ता लागेको थियो । विश्व स्वास्थ्य संगठनकै तथ्यांकअनुसार सन् २००३ देखि हालसम्म विश्वभर आठ सय ६० जना मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । तीमध्ये चार सय ५४ जना संक्रमितको मृत्यु भएको छ । मानिसबाट मानिसमा भने हालसम्म नसरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












