२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

परपुरुषसँगको सम्बन्ध जोगाउन आमाको हत्या : बच्चाबाट खुल्यो पोल



अ+ अ-

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीकी ६१ वर्षीया सावित्रा भट्टराईको हत्यामा उनकै छोरीको संलग्नता रहेको खुलेको छ । आफ्ना पति हुँदा हुँदै परपुरुषसँगको सम्बन्धमा रहेकी २७ वर्षीया छोरी ईश्वरी भट्टराईले प्रेमीसँगको सम्बन्धका कारण आमाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । आइतबार बिहान चक्कु प्रहार गरी घाँटी रेटेर सावित्रीको हत्या गरिएको थियो ।

हत्याको अनुसन्धानका क्रममा प्रहरीले उनकी छोरी २७ वर्षीया ईश्वरीसहित चारजनालाई पक्राउ गरेको छ । ईश्वरीले सिराहा स्थायी घर भई भक्तपुर पुरानो ठिमी बस्दै आएका प्रेमी मोहम्मद नौसादसँगको सम्बन्ध आमाबाट बाहिर आउने थाहा पाएपछि आमाको हत्याको योजना बुनेको प्रहरीले बताएको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले प्रेमी नौसादसँगको सम्बन्ध आमाले थाहा पाएपछि छोरीको घरबार बिग्रन नदिने र ज्वाइँलाई भनिदिने भनेपछि ईश्वरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको बताए ।

‘पटक–पटक छोरीलाई भेट्न नौसाद घर आउन थालेपछि आमाले उनीहरुको सम्बन्धबारे थाहा पाइन्, सो कारण छोरीको घर बिग्रन नदिन र ज्वाइँलाई जानकारी दिने भनेपछि प्रेमीसँग मिलेर हत्याको योजना बुनेको देखिन्छ,’ महाशाखाका प्रमुख थापाले भने । उनले हत्यामा भाडाका मान्छे प्रयोग गरिएको अनुसन्धानबाट खुलेको समेत जनाए ।
‘आमाबाट सबै कुरा बाहिर आउँछ भन्ने डरले प्रेमीसँग मिलेरै भाडामा दुई जना व्यक्तिलाई हत्यामा प्रयोग गरेको देखिन्छ,’ थापाले भने ।

हत्यामा भारतीय कन्ट्याक्ट किलरको प्रयोग

प्रहरीका अनुसार भारतीय कन्ट्याक्ट किलर अर्जुन कुमार भनिने भोला कुमार र मोहमद रहिसले भट्टराईको हत्या गरेका हुन् । हत्याका लागि छोरी ईश्वरीले उनीहरुलाई १२ लाखको वचन दिएकी थिइन् । हत्यामा संलग्न दुवै भारतीय नागरिकलाई समेत प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुले चक्कु प्रहार गरेर सावित्राको हत्या गरेको स्वीकार गरेका छन् । प्रहरीले पक्राउ परेकामाथि ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिने जनाएको छ ।

यसरी प्रेम बस्यो नौसादसँग

२७ वर्षीया ईश्वरी सोनाम थापा मगरसँग विवाह बन्धनमा रहेको ९ वर्ष भयो । उनीहरुको चार वर्षीय एक छोरा छन् । श्रीमान् सोनामले भने एयरपोर्टनजिकै होटल व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनी नेपाली चलचित्र क्षेत्रमा समेत संलग्न छन् ।


तर, ईश्वरी भने भक्तपुरमा नै एक गार्मेन्ट कारखानामा काम गर्ने गरेकी थिइन् । गार्मेन्टमा काम गर्ने क्रममा नै उनले सिराहाका मोहमद नौसाद चिनजान भएको हो । त्यसपछि उनीहरु एक अर्कासँग निकट हुँदै गए । यतिसम्मकी काम नहुँदा वा घर बसेको अवस्थामा नौसाद ईश्वरीलाई भेट्न चाँगुनारायणमा रहेको घरमा नै पुग्थे । त्यसै बीचमा ईश्वरीले गार्मेन्टको जागिर छोडिन् । तर, नौसाद उनलाई भेट्न चाँगुनारायण आइरहन्थे । श्रीमान् होटलमा व्यस्त हुँदा नौसादलाई ईश्वरीको घरसम्म आउजाउ गर्न सहजसमेत भयो ।

सो क्रममा उनीहरु बीचको सम्बन्धबारे आमा सावित्राले जानकारी पाइन् । घरमा धेरै आउजाउ भएपछि आमाले सोही कारण श्रीमान्सँगको सम्बन्ध नबिगार्न छोरीलाई सुझाइन् । तर, छोरीले नौसादसँग निकट हुन भने छाडिनन् । यतिसम्म कि उनकी दिदी र नौसादको भाइको समेत चिनजान भइसकेको थियो भने ईश्वरीका छोराले समेत नौसादलाई राम्रैसँग चिन्ने भइसकेका थिए ।

छोरीकै घरमा बसेकी थिइन् सावित्रा

ईश्वरीकी आमा सावित्रा केही समयदेखि छोरीकै घरमा बस्दै आएकी थिइन् । सोही क्रममा उनले उनीहरुको सम्बन्धबारे थाहा पाइन् । आमा सावित्राले नातिलाई स्कुल लाने र ल्याउनेसमेत गर्ने गरेकी थिइन् । यतिसम्म कि छोरीको घरमा बसेकी सावित्रा ईश्वरीका लागि पछिल्लो समय सहारा नै बन्दै आएकी थिइन् ।


छोरीबाट छुटाउन नौसादलाई १ लाख र विदेश
छोरीसँगको सम्बन्धबाट टाढा बनाउन छोरीसँग निकट रहेका नौसादलाई आमा सावित्रीले विदेश पठाइदिने योजनासम्म बनाइन् । सोही क्रममा आमाले नौसादलाई विदेश जान भन्दै १ लाख रुपैयाँ पनि दिइन् । त्यसपछि नौसाद ९ जेठमा दुबई पुगे । तर, उनी त्यहाँ टिक्न सकेनन् र १० असारमा उनी नेपाल आए ।

विदेशबाटै हत्या योजना

९ जेठमा दुबई पुगेका नौसाद त्यहाँ टिक्न नसकेपछि पुनः ईश्वरी र उनीबीच फेसबुकमा कुराकानी हुन थाल्यो । त्यसपछि उनीहरु विवाह गर्ने योजनामा पुगे । तर, आमाका कारण बाधा हुने भएपछि उनीहरुबीच आमाको हत्या गर्ने योजना बन्यो । त्यसपछि १० असारमा नेपाल आएका नौसाद १२ असारमा भारत गए । उनले त्यहीबाट नै हत्याका लागि भाडामा मान्छे ल्याएका हुन् । उनी १४ गते दुई भारतीयसहित नेपाल आएका हुन् ।

यसरी खुल्यो हत्याको पोल

हत्या भइसकेपछि प्रहरी निकै बेर तनावमा पर्यो । हत्यामा संलग्नको खोजीमा भक्तपुर प्रहरीसहित अपराध महाशाखाको टोली खटियो । प्रहरीले छिमेकीसहित सबै पक्षसँग सोधपुछ अघि बढायो ।
सोही क्रममा ईश्वरीका चार वर्षीय छोरा दिप्सनले घरमा आउजाउ हुने गरेको नौसादबारे प्रहरीलाई सुनाए । त्यसपछि प्रहरी अनुसन्धान सोझै नौसादतर्फ मोडियो । प्रहरीले नौसादबारे विवरण खोज्न थाल्यो । सोही क्रममा डेढ महिनाअघि मात्रै विदेश गएको मान्छेबाट हत्या कसरी भयो होला भन्नेमा अन्योल थियो । नौसादले भाइलाई नेपाली नम्बरबाट फोन गरेको डिटेल प्रहरीले पायो । त्यसपछि प्रहरी घटनाको नजिक पुग्यो ।

दाइसँग भएको फोनबारे भाइले ईश्वरीकी दिदीलाई समेत सुनाएको प्रहरीले फेला पार्यो । नौसादका भाइ र उनको समेत चिनजान भएको प्रहरीले पत्ता लगायो । त्यहाँबाट प्रहरी झन् अनुसन्धानको नजिक पुग्यो । त्यसपछि मोबाइल फोनको लोकेसनका आधारमा नौसाद आइतबार राति धादिङको गजुरीबाट पक्राउ परे ।

उनकै बयानका आधारमा ईश्वरी भट्टराई, भारतको पूर्वी दिल्लीस्थित दुभौली पञ्चायतको नयाँ अशोकनगरका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार र भारतकै मधुवनी जिल्ला रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिसलाई समेत प्रहरीले पक्राउ गरेको हो । दुई भारतीयलाई भने भारत फर्किंदै गर्दा मकवानपुरबाट प्रहरीले पक्राउ गरेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।