५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गममा जाँदैनन् कर्मचारी



अ+ अ-

सङ्खुवासभा । सङ्खुवासभा भोटखोला गाउँपालिकामा सचिव अभावका कारण सेवाग्राही सास्ती खेप्न वाध्य भएका छन् ।

गाउँपालिककाका पाँच वटा वडाका ६ हजार ५७६ जनाका लागि एक जना सचिवले सेवा दिइरहेका छन् । एक मात्र सचिवका कारण स्थानीयवासीलाई सास्ती भएको हो ।

भौगोलिक विकटता भए पनि पाँचवटा वडा एक्लै भ्याउनुपर्ने बाध्यता रहेको वडासचिव नायबसुब्बा दावा लामाले बताउनुभयो । “ एक वडामा महीनाको दुई–तीन दिनभन्दा बढी समय दिन सकिँदैन”, वडासचिव लामाले भन्नुभयो, “एक वडा कार्यालयबाट अर्को वडा पुग्न दुईदेखि चार दिनसम्म लाग्छ । आउजाउमै समय बित्छ ।” अधिकांश समय गाउँपालिका केन्द्रमै रहेर सेवा दिनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । लामाका अनुसार स्थानीय सरकार सञ्चालनमा आएपछि सेवा विस्तार हुन सकेको छैन ।

भोटखोलामा प्रमुख प्रशासकीय अधिकृत, सहलेखापाल, नायबसुब्बा ९वडासचिव र कृषि शाखा प्रमुख०, खरिदार, खानेपानी सरसफाइ प्राविधिक स्थायी कर्मचारी छन् । सो गाउँपालिकामा २७ जनाको दरबन्दी छ । तर पाँच जना मात्र हुँदा सेवाप्रवाहमा समस्या हुने गरेको छ । पाँच जना करार कर्मचारी थपिएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले बताउनुभयो । अध्यक्ष भोटेका अनुसार पाँच वडामा एक–एक र गाउँपालिका कार्यालयमा दुई गरी सात जना कार्यालय सहयोगी राखिएको छ । कर्मचारी अभाव र भौगोलिक विकटताका कारण सोचेजस्तो काम गर्न नसकिएको उहाँको भनाइ छ ।

“एक जना वडासचिवलाई कतितिर कुदाउने रु”, अध्यक्ष भोटेले भन्नुभयो । सरकारले दरबन्दीअनुसार तत्काल कर्मचारी नपठाउने हो भने भोटखोलाका जनताले सहज रूपमा सेवा पाउन कठिन छ । सिंहदरबारकेन्द्रित सरकारी सेवा गाउँ पु¥याउन कठिन हुने उहाँको भनाइ छ ।

यहाँ दुर्गम भत्ताको व्यवस्था भए पनि कर्मचारी आउन नमानेको अध्यक्ष भोटेले गुनासो गर्नुभयो । कर्मचारीलाई आकर्षित गराउन गाउँपालिकाले थप मासिक रु चार हजारसमेत व्यवस्था गरेको छ । यातायातको असुविधाले पनि कर्मचारी भोटखोला आउन रुचाउँदैनन् । चीन र भारत जोड्ने छोटो मार्ग किमाथाङ्का–विराटनगर सडक सोही गाउँपालिका हुँदै जाने भए पनि समयमा सम्पन्न हुन सकेको छैन । हिउँदमा भोटखोला गाउँपालिकाको गोलासम्म सडक सञ्चालनमा आउने गरेको छ ।

गाउँपालिका केन्द्रसम्म सडक सञ्चालन हुने हो भने भोटखोलामा पनि कर्मचारी आउने उपाध्यक्ष पान्जाम भोटेको विश्वास छ । सरकारी सेवा भोटखोलाका स्थानीय जनतासम्म पु¥याउन किमाथाङ्का–विराटनगर सडक तत्काल निर्माण गरी सञ्चालन गर्न आवश्यक रहेको पान्जामले बताउनुभयो ।

जिल्ला सदरमुकाम खाँदबारीबाट ३० कोस टाढा रहेको भोटखोला चीनको सीमा क्षेत्रमा पर्छ । यो गाउँपालिका साबिकका किमाथाङ्का, चेपुवा, हटिया, पावाखोलाका १ देखि ३ वडा मिलेर बनेको हो ।