२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो कस्तो बह्रमलुट !, कृषकको पैसा कर्मचारीको खल्तीमा



अ+ अ-

काठमाडौं । कृषकले पाउनुपर्ने अनुदानका सामग्रीमा नक्कली बिल बनाएर अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धानले तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ ।

कर्णाली सामुदायिक विकास केन्द्र, नेपालगन्जमा कार्यरत तत्कालीन कृषि प्राविधिक मोतीप्रसाद न्यौपाने र साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनामा कार्यरत देवराज भुसाल र श्रीस्थान ताजा तरकारी उत्पादन कृषक समूह, व्यावसायिक अदुवा उत्पादन उपआयोजना कृषक समूहका अध्यक्ष रामकुमारी केसीविरुद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूले पाँच लाख ७७ हजार तीन सय ५० रुपैयाँ अनियमितता गरेको आयोगले जनाएको छ ।

दैलेखको नारायण नगरपालिका–१ कुइकानास्थित श्रीस्थान ताजा तरकारी कृषक समूहलाई अदुवाखेती गर्न भनेर साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना, नेपालगन्जबाट दिइएको अनुदान हिनामिना भएको हो । खेती नै नगरेका कृषकको भरपाइसमेतका नक्कली बिललगायतका कागजात तयार गरी रकम अनियमितता गरेको आयोगको अनुसन्धानमा खुलेको छ ।

श्रीस्थान ताजा तरकारी उत्पादन कृषक व्यावसायिक अदुवा समूह, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना र नेपाल राष्ट्र बैंक नेपालगन्जबीच उपआयोजना सञ्चालन गर्न भएको त्रिपक्षीय सम्झौताअनुसार कृषक समूहलाई वितरण गर्नुपर्ने अदुवाको बीउ लगायतका कृषि सामग्रीमा अनियमितता भएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

सम्झौतामा उल्लेख भएअनुसारको परिमाणमा खरिद नगरी अदुवाखेती नभएकै अवस्थामा उनीहरूले गलत प्रतिवेदन तथा झुटा बिल भर्पाइसमेत तयार गरी नभएको कामको शतप्रतिशत कार्य सम्पन्न भएको भनी अनियमितता गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।