२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्केरीको रक्तस्राव रोक्ने औषधि नै म्याद गुज्रेका



अ+ अ-

प्यूठान। जिल्ला स्वास्थ्य कार्यालय प्युठानले मातहतका स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि पठाएको छ ।

नौबहिनी गाउँपालिका–८ स्थित फोप्ली स्वास्थ्य चौकीमा सुत्केरीको रक्तस्राव रोक्न प्रयोग हुने अक्सिटोसिन इन्जेक्सन म्याद गुज्रिसकेको अवस्थामा आइपुगेको स्वास्थ्य चौकीका प्रमुख विनोद शाहले बताए ।

‘३० एमपुल इन्जेक्सनको म्याद नाघेको थियो,’ उनले भने, ‘स्वास्थ्य कार्यालयबाट आएका औषधि गाउँपालिकामा एक महिना स्टोर भएछ ।’ गाउँपालिकाले समयमै नपठाउँदा औषधिको म्याद नाघेको साहले बताए ।

म्याद गुज्रेको औषधि स्वास्थ्य चौकी पुग्नुमा जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाले एक–अर्कालाई दोषारोपण गरेका छन् । स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले स्थानीय तहले ढुवानीमा ढिलाइ गरेका कारण औषधिको म्याद गुज्रिएको बताए ।

‘प्रदेश तथा केन्द्रबाट आएका औषधि स्वास्थ्य चौकीहरूको मागअनुसार हामीले स्थानीय तहहरूमा पठाउने गरेका छौँ,’ उनले भने, ‘स्थानीय तहमा गएका औषधि मातहतका स्वास्थ्य चौकीमा वितरण गर्न पालिकाहरूले नै ढुवानी गर्ने व्यवस्था छ । पालिकाहरूले समयमै ढुवानी नगर्दा औषधिको म्याद सकिने अवस्था आएको हुन सक्छ ।’ कम्तीमा १८ महिना म्याद भएको औषधि मात्र खरिद गर्ने कानुनी व्यवस्था रहेको उनको भनाइ छ ।

तर, नौबहिनी गाउँपालिकाले भने स्वास्थ्य कार्यालय नै म्याद गुज्रिन लागेको औषधि आफूहरूकहाँ पठाएको बताएको छ । ‘स्वास्थ्य कार्यालयले वैशाख २८ मा औषधि पठायो । तर फोप्ली जाने बाटो बिग्रेकाले १५ दिन ढिला भयो,’ नौबहिनी गाउँपालिकाका स्वास्थ्य सहसंयोजक गोविन्द केसीले भने, ‘१५ दिनमै म्याद सकिने औषधि पठाउनु त स्वास्थ्य कार्यालयकै दोष हो ।’

स्वास्थ्य कार्यालय प्युठानका प्रमुख सुवेदीले संघसंस्थाहरूले स्वास्थ्य संस्थामा गर्ने अनुगमन गर्दा आफूहरूसँग समन्वय नगरेकोमा असन्तुष्टि जनाए । ‘उहाँहरू आफूखुसी अनुगमन गर्नुहुन्छ । प्रतिवेदन हामीलाई आउँदैन,’ उनले भने, ‘के अनुगमनको विवरण सामाजिक संजालमा हालेर पुग्ने हो ?’

आर्थिक वर्ष ०७५/०७६ मा संघीय सरकारको सशर्त अनुदानबाट सोझै स्थानीय सरकारमा औषधी खरिदका लागि बजेट आउने गरेको छ । अपुग बजेट स्थानीय तहले वित्तीय समानीकरण मार्फत थप्छन् । स्वास्थ्य सेवा विभाग र प्रादेशिक मेडिकल स्टोर मार्फत स्वास्थ्य कार्यालयलाई औषधी आउने गरेको स्वास्थ्य कार्यालय प्युठानले जानकारी दिएको छ ।

निशुल्क अत्यावश्यक औषधी व्यवस्थापन अन्तर्गत अस्पताललाई ७०, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५८, स्वास्थ्य चौकीमा ३५ तथा सामुदायिक स्वास्थ्य इकाई र सहरी स्वास्थ्य केन्द्रमा २५ थरीका औषधी निशुल्क आउँने समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।