२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

३८ सय केजी सुन तस्करी प्रकरण : मुख्य न्यायाधीशसहित पाँच न्यायाधीशलाई सफाइ



अ+ अ-

काठमाडौं । ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा मुछिएका आठ न्यायाधीशमध्ये पाँच न्यायाधीशले सफाइ पाएका छन् ।

तीन न्यायाधीशलाई भने न्यायपरिषद् ऐनविपरीतका कार्यमा संलग्न भएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

परिषद्ले मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित पाँच न्यायाधीशलाई सफाइ दिएको हो । परिषदले मुख्य न्यायाधीश भुर्तेल, न्यायधीशहरू सारंगा सुवेदी, जनक पाण्डे, उमेशराज पौडेल र नागेन्द्र लाभ कर्णको उजुरी तामेलीमा राख्ने निर्णय गरेको हो । परिषद् स्रोतका अनुसार संलग्नता पुष्टि हुन नसकेपछि उजुरी तामेलीमा राखिएको हो । न्यायाधीश पौडेल र कर्णले यसअघि नै अवकाश पाइसकेका छन् ।

मंगलबारदेखि बसेको परिषद् बैठकले छानबिन समितिले गरेको प्रतिवेदनका आधारमा ती न्यायाधीशको विषयमा निर्णय गर्ने तयारी गरेको छ ।

न्यायाधीश छानबिनका लागि न्यायपरिषद्ले गत २५ चैतमा सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको अध्यक्षतामा न्यायाधीश मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठ सदस्य रहेको समिति गठन गरेको थियो । चालिसे समितिले अघिल्लो साता प्रधानन्यायाधीशसमक्ष प्रतिवेदन बुझाएको थियो ।

न्यायपरिषद्ले सुन तस्करी प्रकरणमा धरौटीमा छोड्ने आदेश गर्दा न्यायिक विचलनमा परेको अभियोगमा दुई न्यायाधीशको विषय भने परिषद्ले गम्भीर रूपमा लिएको छ । परिषद्ले न्यायाधीशद्वय थीरबहादुर कार्की र उमेशकुमार सिंहलाई गम्भीर प्रकृतिको कार्यमा संलग्न देखिएको भन्दै ७ दिनभित्र स्पष्टीकरण बुझाउन भनेको छ ।

ऐन २०७३ को दफा १० अनुसार कार्यक्षमताको अभाव, दफा ११ अनुसार खराब आचरण वा आचारसंहिताको गम्भीर उल्लंघन र दफा १२ अनुसार इमानदारीपूर्वक कर्तव्य पालन नगरेको वा बदनियतपूर्वक काम कारबाही गरेको भन्ने आरोपमा सफाइ पेस गर्न पत्र काटिएको हो ।

परिषद्ले उनीहरूलाई भ्रष्टाचार मुद्दा दर्ता गर्ने विषयमा सेवाबाट हटाउन सक्नेसम्मको कारबाहीबारे आफ्नो भनाइ राख्न भनेको छ । त्यस्तै, न्यायाधीश साधुराम सापकोटालाई भने ‘किन सचेत नगराउने’ भन्दै पत्र काटेको छ । उनलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन भनेको छ ।

नयाँ प्रधानन्यायाधीशका रूपमा चोलेन्द्रशमशेर राणाले पदभार सम्हालेलगत्तै न्यायिक इतिहासमा पहिलोपटक मुख्य न्यायाधीशसहितका आठ जना छानबिनका लागि तानिएका थिए ।

प्रधानन्यायाधीश राणाले गठन गरेको सूक्ष्म निगरानी संयन्त्रले उच्च अदालत भ्रमण गरेको थियो । परिषद्को टोलीले विराटनगर उच्च अदालत निरीक्षणका क्रममा कैफियत पाएपछि छानबिनका लागि परिषद्ले अध्ययन सुरु गरेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।