५ असार २०८३, शुक्रबार
,
Latest
बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची खानेपानीको दोस्रो खण्डको काम शुरु, १५ दिनभित्र मुआब्जा लिन सूचना जारी



अ+ अ-

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु भएको छ । जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण शुरु गरेको छ ।

मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्केखोलाको पानी मिसाएर काठमाडौँ लैजानको लागि सरकार लागिपरेको हो ।

पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौँमा झार्नेछ । त्यसैगरी याङ्ग्री र लार्केखोलाबाट पनि १७÷१७ करोड लिटर पानी लैजाने सरकारको लक्ष्य छ । यो योजना पूरा भए मेलम्चीबाट अहिले लैजान लागिएको पानी तेब्बर क्षमतामा विस्तार हुनेछ ।

याङग्री र लार्केखोला क्षेत्रभित्रका जग्गाधनीलाई मुआब्जा लिनका लागि सूचनासमेत जारी गरिएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विभिन्न वडामा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने ३७६ कित्ता जग्गा र सो जग्गामा पर्ने बोटबिरुवा, बालीनाली, गोठटहराको मुआब्जा वितरण गर्न शुरु गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले १५ दिनभित्र मुआब्जा लिनका लागि सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिए।

पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ को १५२ कित्ता र २ को ५५, ४ को ४४, ८ को ३६, ९ को छ र वडा नं ६ को चार कित्ता जग्गा सरकारी अधिग्रहणमा पर्ने भएकाले उनीहरूलाई मुआब्जा लिन आग्रह गर्दै सूचना जारी गरिएको हो । जग्गा अधिग्रहणका लागि जग्गाको दररेट पनि तोकिसकेको छ ।

तर, सूचना जारी भए पनि स्थानीयवासी मुआब्जा बुझ्न नआएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ का वडाध्यक्ष पासाङ स्याङबोले जनाए ।

मुआब्जा लिन स्थानीयवासी नआएकाले सरकारले १५ दिनभित्रमा लिन स्थानीयवासीलाई आग्रह गरेको उनको भनाइ छ ।

दोस्रो खण्डअन्तर्गतको याङ्ग्री र लार्केको पानी लैजानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।

परामर्शदाता कम्पनी इप्टिसाले याङ्ग्री र लार्केखोलाको पानी मेलम्चीमा मिसाउने गरी बनाएको डिपिआर मेलम्ची खानेपानी विकास समितिलाई दिएको हो ।

यो आयोजना रु ३० अर्ब खर्च गरेर करीब चार वर्षभित्र काम सक्ने लक्ष्यका साथ शुरु गरिएको छ ।

गत माघबाट रोकिएको मेलम्ची खानेपानी आयोजना (पहिलो खण्ड) को काम शुरु गर्न नयाँ ठेक्का आह्वान भइसकेको छ । अब आयोजनाको काम डेढ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।

सँगै जग्गा अधिग्रहणलगायतका काम सकेर मेलम्चीको दोस्रो परियोजना थाल्न बोलपत्रमा जाने योजना बनेको आयोजनाले जनाएको छ ।