मानागुवाः मध्य अमेरिकी राष्ट्र निकारागुवाले शुक्रबार ताइवानसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवान समेतलाई आमन्त्रण गरेर लोकतन्त्र शिखर बैठक आयोजना गरेको भोलिपल्टै निकारागुवाले ताइवानको साथ छाडेको छ ।
निकारागुवाले ताइवानको साटो चीनसँगको कुटनीतिक सम्बन्ध थप विस्तार र प्रगाढ बनाउने घोषणा गरेर अमेरिकी नीतिमाथि धावा बोलेको छ । ह्वाइट हाउसले निकारागुवाका राष्ट्रपति डानियल ओर्टेगाको उक्त कदमको भत्र्सना गर्दै निकारागुवाको सत्ताले जनताको भावना विपरीत कार्य गरेको बताएको छ ।
ताइवानसँग अब विश्वका १४ मुलुकको मात्र कुटनीतिक एवं दौत्य सम्बन्ध रहेको छ तर ताइवानले पछिल्ला वर्षहरुमा संयुक्तराज्य अमेरिका समेतका पश्चिमा देशहरुको बलियो समर्थन अझ सुदृढ गरेको छ ।
चीनले केही वर्षदेखि ताइवानसँग कुटनीतिक सम्बन्ध रहेका मुलुकहरुलाई आफ्नो पक्षमा ल्याउने अभियान नै संचालन गरिरहेको छ । दक्षिण अमेरिकी मुलुकहरु पनामा, एल साल्भाडोर र डोमिनिकन रिपब्लीकले ताइवानसँगको कुटनीतिक सम्बन्ध यसअघि नै तोडिसकेका छन् ।
निकारागुवाका विदेश मन्त्री डेनिस मोनकाडाले जारी गरेको विज्ञप्तिमा समग्र चीनको आधिकारिक सरकारी प्रतिनिधित्व चीनले मात्र गर्न सक्ने उल्लेख छ ।
पर्यवेक्षकहरुले निकारागुवाको यो कदम चीनको कुटनीतिक सफलता रहेको बताएका छन् । एएफपी












