
झापा । झापाको कचनकवल गाउँपालिकामा भारतीयलाई नेपाली नागरिकता दिलाउन मिलोमतो गरेका जनप्रतिनिधि र स्थानीयलाई पक्राउ गर्न प्रहरीले आलटाल गरेको छ । घटना सार्वजनिक भएको एक साता बितिसक्दा पनि नागरिकताका लागि कागजपत्र मिलाइदिने जनप्रतिनिधि, कर्मचारी र सर्जमिन गर्ने स्थानीयलाई प्रहरीले समातेको छैन ।
नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक भूपाल गुरुङलाई प्रहरीले १० वैशाखमा जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुंगेलले भूपाललाई भारतीय मतदाता परिचयपत्रसहित पक्राउ गरेका थिए ।
भर्खरै भारतमा सम्पन्न लोकसभा निर्वाचनमा मत दिएका भूपालको औँलामा मसी लागेको देखेपछि उनीमाथि सोधपुछ गरिएको थियो । बरामद भएको मतदाता परिचयपत्रमा भूपालको बाबुको नाम चन्द्रबहादुर गुरुङ लेखिएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।












