
काठमाडौं । सवारीसाधनबाट उत्पन्न हुने ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले एक करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको ४० वटा अटोमेटिक इमिसन एनालाइजर मेसिन प्रयोगविहीन अवस्थामा पुगेका छन्।
यातायात व्यवस्था विभागले मुलुकभरका यातायातको ध्वनि प्रदूषण मापन गर्न एक वर्षअघि खरिद गरिएका ती अटोमेटिक इमिसन एनालाइजर मेसिन ९ महिनाअघि १४ वटै अञ्चलस्थित यातायात व्यवस्था कार्यालयलाई वितरण गरेको थियो।
सवारीसाधनबाट ध्वनि प्रदूषण बढेको निष्कर्ष निकाल्दै सवारी सञ्चालन गर्नुपूर्व ध्वनि मापन गरी जाँच पास दिएपछि मात्र सञ्चालन अनुमति दिनु भन्दै ती वितरण गरिएको थियो। तर, कतिपय मेसिन प्रयोगमै ल्याइएको छैन भने कतिपय काम नलाग्ने भइसकेका छन्।
यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालका अनुसार मेसिन चलाएर ध्वनि मापन गरेर जाँचपास दिँदा भन्दा नजाँची दिँदा व्यक्तिगत लाभ लिन पाइने भएकाले अञ्चलस्थित कार्यालयका मेकानिकल इन्जिनियरहरूले ती मेसिन प्रयोगमै ल्याएनन्।
तर, यातायात व्यवस्था कार्यालय मेचीका मेकानिकल इन्जिनियर विजय अधिकारीका अनुसार एक वर्ष वारेन्टी भएका ती अटोमेटिक इमिसन एनालाइजर मेसिन प्रयोगमा ल्याएको आठ महिना पनि नबित्दै बिग्रिएका छन्।
यातायात व्यवस्था कार्यालय सगरमाथा लहानका मेकानिकल इन्जिनियर गोपिचन्द्र बोहराले भने, ‘हामीले प्रयोगमै ल्याएका छैनौं, विभागले पठाएदेखि नै प्रयोगहीन अवस्थामा छ।’ राजधानी दैनिकमा समाचार रहेको छ ।












