
काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा बेरोजगार भत्ता वितरण नगर्ने भएको छ।
बेरोजगार पहिचान र उपलब्ध रोजगारी यकिन गर्ने कार्यमा भएको ढिलाई तथा न्यूनतम रोजगरीको अवधि बाँकी नुहँदा यस वर्ष बेरोजगार भत्ता वितरण असम्भव भएको हो ।
सरकारले बेरोजगारलाई न्यूनतम रोजगारी दिन नसकेमा बेरोजगारलाई भत्ता उपलब्ध गराउने भन्दै गत फागुन १ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रममा घोषणा गरेका थिए।
हरेक स्थानीय तहमा रहेर रोजगार सेवा केन्द्रले १६ देखि ६० वर्ष उमेर समूहका बेरोजगारको पहिचान गर्ने, अभिलेख तयार पार्ने कार्यक्रमको सहजीकरण गर्ने र स्थानीयस्तरमा तीनै तहका सरकारले उपलब्ध गराउने रोजगारीको पहिलाचन गरी रोजगार केन्द्रमा सूचीकृत बेरोजगारका लागि रोजगारी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको थियो। तर रोजगार संयोजक नियुक्ति गर्न दुई पटक परीक्षा सञ्चालन गर्दासमेत अझै २५ स्थानीय तहमा संयोजक खटाउन नसकेको खबर नयाँ पत्रिका दैनिकमा छ।












