
काठमाडौं । सरकारी अस्पतालको चरम लापरवाहीका कारण अधिकांश मेसिनरी उपकरण थन्किएका छन् । अस्पताल प्रशासनले दीर्घकालीन योजना बनाउन नसक्दा यो स्थिति आएको हो । अस्पताल प्रशासनको यस्तो लापर्बाहीको सीधा असर उपचारका लागि गएका बिरामीले भोग्नु परिरहेको छ ।
सरकारी अस्पतालका उपकरण जीर्ण हुँदा रोग पहिचान र निराकरणका लागि गएका बिरामी सो सेवाका लागि निजी अस्पतालमा रेफर हुनुपर्ने अवस्था सिर्जना भएको छ । स्वास्थ्य सेवा प्रवाहका लागि खरिद भएका मेसिनरी उपकरण सम्बन्धित विशेषज्ञ तथा पूर्वाधार अभावका कारण उपयोग हुन नसकेको देखिएको छ । तर, सरकारले उपकरण प्रयोगको प्रभावकारिताबारे चासो देखाएको छैन ।
वीर अस्पतालका दुईवटा भेन्टिलेटर एक वर्षदेखि प्रयोगविहीन अवस्थामा छन् । कान्ति बाल अस्पतालका लागि ४ करोड ५४ लाख रुपैयाँमा खरिद गरिएको सीटी स्क्यान मेसिन र जापान सरकारबाट प्राप्त डीआर मेसिन पटक–पटक बिग्रिँदा मासिक २ हजार २ सय बिरामीलाई अन्यत्र पठाउनुपरेको महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको छ । यो खरब आजको राजधानी दैनिकमा छापिएको छ ।












