
रौतहट । किसानले आफ्नो उत्पादन घरैबाट बिक्री गर्न थालेपछि रौतहटको चन्द्रपुर नगरपालिकाका बिचौलियाको बिचल्ली भएको छ । बिचौलियाका कारण तौल र मूल्य दुवैमा ठगिएको भन्दै किसानले आफ्नो उत्पादन सीधै उपभोक्तालाई बिक्री गर्न थालेपछि बिचौलियाको बिचल्ली भएको हो । उपभोक्ताले पनि बिचौलियाबाट ठगिने भन्दै सीधै किसानसँग अन्न खरिद गर्न थालेका छन् ।
अहिले मकै र गहुँ बाली थन्क्याउने सिजन छ । यो सिजनमा घरघरै घुमेर अन्न खरिद गर्ने व्यापारीलाई किसानले अन्न बिक्री गर्दैनन् । अन्नको आवश्यकता परेका उपभोक्ता सीधै किसानको सम्पर्कमा जान्छन् र अन्न खरिद गर्छन् । चन्द्रपुर नगरपालिका ६ का किसान लालबहादुर पुरीले उत्पादन गर्नुभएको गहुँ घरैबाट बिक्री गर्नुभयो ।
गहुँ खरिद गर्ने उपभोक्ताले गहुँ पाक्न थालेदेखि नै गहुँको माग गरेको उहाँ बताउनुहुन्छ । उहाँले गहँु प्रतिकिलो २८ रुपियाँमा बिक्री गर्नुभयो । व्यापारीले प्रतिकिलो २५ रुपियाँमा माग गरेको गहुँ उपभोक्तालाई बिक्री गर्दा एक किलोमा तीन रुपियाँ बढी पाएको बताउनुभयो ।
व्यापारीले गहुँ प्रतिकिलो ३० रुपियाँ भनेको सुनाउँदै उपभोक्ता कालीदास पौडेलले किसानसँग सीधै खरिद गर्दा २८ रुपियाँमा पाएका कारण एक किलो गहुँमा दुई रुपियाँ बचत भएको बताउनुभयो । दुई क्विन्टल गहुँ खरिद गर्नुभएको उहाँले ४०० रुपियाँ बचत भएको र मिसावटरहित गहुँ पाएको बताउनुभयो ।
अर्का उपभोक्ता इन्द्रराज उपाध्यायले पनि बिचौलियासँग अन्न खरिद गर्दा अन्नमा मिसावट र महँगो पर्न जाने भन्दै एक वर्षलाई चाहिने गहुँ किसानसँगै खरिद गरेको बताउनुभयो । पशुपालक किसान र पिठो व्यापारीले पनि मकै र गहुँ सीधै किसानसँग खरिद गर्न थालेका छन् । पिठो व्यापारी लक्ष्मण चौधरीले किसानसँग खरिद गरेको गहुँ तथा मकै गुणस्तरीय र तौलमा कमी नहुने बताउनुभयो ।
यसरी उपभोक्ता एवं पिठो व्यापारीले समेत सीधै किसानसँग अन्न खरिद गर्न थालेपछि बिचौलिया मर्कामा परेका छन् । घरघरै घुमेर सस्तोमा अन्न खरिद गर्ने र बजारमा महँगोमा बिक्री गर्ने बिचौलिया व्यापारी रघुनाथ राउत भन्नुहुन्छ, अब किसान बाठा भइसकेछन् । उनीहरूले सीधै उपभोक्ता र पिठो व्यापारीलाई अन्न बिक्री गर्न थाले । जसका कारण आफ्नो रोजीरोटी नै गुमेको छ । उहाँ अब अर्कै पेसा गर्ने सोचमा हुनुहुन्छ । नगरका अधिकांश बिचौलियाको गुनासो उहाँको जस्तै छ ।
यसैगरी उपभोक्ता र अन्यले किसानसँग सीधै कृषि उपज खरिद गर्ने हो भने बिचौलियाको अन्त्य हुने र सस्तो तथा गुणस्तरीय वस्तु प्राप्त गर्न सकिने नगरको वडा नम्बर ६ का वडाध्यक्ष खड्गबहादुर कुश्वारले बताउनुभयो । उहाँले तरकारीमा पनि बिचौलियाको अन्त्य गर्न सके उपभोक्ता र उत्पादक दुवैलाई फाइदा हुने बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।












