२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विमानस्थलमा उडान भद्रगोल



अ+ अ-

काठमाडौँ । धावनमार्ग मर्मतका लागि हरेक दिन १० घण्टा बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक उडान व्यवस्थापनमा एकपछि अर्को गर्दै चरम लापरबाहीहरू देखिन थालेका छन् ।

राति १० बजेपछि उडान भर्न नमिल्ने सूचना ‘नोटिस टु एयर मिन’ (नोटाम) जारी भइसकेपछि विमानस्थल व्यवस्थापनले मंगलबार राति फ्लाई दुबईको बोइङ ७३७ विमानलाई उड्ने अनुमति दिएकामा महाप्रबन्धक राजकुमार क्षत्री अनुसन्धानमा तानिएका छन् ।

उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले बुधबार छुट्टाछुट्टै स्पष्टीकरण सोधेका छन् ।

मंगलबार राति ८ः४० मा उडिसक्नुपर्ने फ्लाई दुबईको विमानले १०ः१७ मा धावनमार्ग छोडेको थियो । १०ः०१ मा ढोका बन्द गरेको विमानलाई एयर ट्राफिक कन्ट्रोलरले १०ः०३ मा स्टार्टअपको अनुमति दिएका थिए । १०ः०६ मा पुसब्याक गरिएको जहाजले धावनमार्ग छाड्दा १७ मिनेट ढिला भइसकेको थियो । एक साताअघि यस्तै अवस्थामा नेपाल वायुसेवाको विमानलाई भने उड्न दिइएको थिएन ।

अघिल्लो मंगलबार राति ९ः१५ को उडान तालिका भएको निगमको वाइडबडी विमानलाई विमानस्थलले नोटाम जारी भएको भन्दै १० बजेपछि दुबई उड्न रोकेको थियो । २ सय ७४ यात्रु रहेको विमान रोकिँदा डेढ सयभन्दा बढी यात्रु रातभर जहाजभित्रै बसेका थिए । विमान ११ घण्टापछि भोलिपल्ट मात्रै उडेको थियो ।

महाप्रबन्धक क्षत्री एयरपोर्ट काउन्सिल इन्टरनेसनलको एसियाली सम्मेलनमा भाग लिन हङकङमा गएकाले त्यतिबेला विमानस्थल व्यवस्थापन निमित्त महाप्रबन्धक सुरेशमान सिंहको नेतृत्वमा थियो । विमानभित्र रातभर यात्रु राखेको लगायत विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन भइरहेको छ ।

निगमको विमान र फ्लाई दुबईको विमान उडानमा फरक–फरक मापदण्ड अपनाइएको विषयबारे क्षत्रीलाई २४ घन्टे स्पष्टीकरण सोधिएको मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जनाए । उनलाई बुधबारै स्पष्टीकरण बुझाउन भनिए पनि बेलुकीसम्म मन्त्रालयमा नआएको एक उच्च अधिकारीले बताए । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले पनि महाप्रबन्धक क्षत्रीलाई अर्को २४ घन्टे स्पष्टीकरण सोधेका छन् । उड्डयनकर्मीका लागि जारी गरिने सूचना ९नोटाम० लागू भइसकेपछि उडान अनुमति दिन मिल्दैन । कान्तिपुरबाट