काठमाडाैंः प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
उहाँ यही मङ्सिर १३ गतेदेखि सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुमा भर्ना भई कोभिड–१९ निमोनियाको उपचाररत हुनुहुन्छ ।
अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालद्वारा आज यहाँ जारी विज्ञप्तिमा प्रन्या राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख छ ।
प्रधानन्यायाधीश राणाको अस्वस्थतासँगै सर्वोच्च अदालतको पेशी तोक्ने प्रकृयामा समस्या उत्पन्न भएको जनाइएको छ । उहाँ अस्पतालमा रहे पनि सर्वोच्चमा उहाँले कसैलाइ निमित्त तोक्नु भएको छैन ।
यसैबीच, सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश विरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको हो ।

बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, ‘प्रधानन्यायाधीश विरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको छ ।’
सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतका नेताहरु सहभागी थिए ।












