काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन उद्घाटन समारोहमा दुई कम्युनिष्ट पार्टीका नेता शुभकामना दिन अतिथिका रुपमा निम्त्याइएका थिए । राप्रपाको सभामा राष्ट्रवादको विषयलाई लिएर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा मालेका महासचिव सीपी मैनालीबीच रोचक आरोप प्रत्यारोप चल्यो ।
माले महासचिव मैनालीले पृथ्वीनारायण शाहपछि नेपालको सबैभन्दा राष्ट्रवादी मान्छे तत्कालीन राजा महेन्द्र भएको बताएपछि दुबै नेताबीच जुहारी नै चलेको थियो । शुरुमै बोल्न मञ्चमा आमन्त्रण गरिएका मैनालीले भन्नुभयो, ‘नेपाललाई भारतमा गाभिएको सिक्किम वा भुटानजस्तो हुनबाट रोक्नको निम्ति पृथ्वीनारायण शाहपछि कसैले कदम चालेको छ भने ती राजा महेन्द्र हुन् । दिल्ली सम्झौतामा उल्लेख विधान सभा भएको भए नेपाल त्यतिबेलै भारतमा गाभिन्थ्यो।’
नेता मैनालीले विदेशी हस्तक्षेपलाई अस्वीकार गर्ने नेता तत्कालीन राजा महेन्द्र नै भएको बताउनु भयो । राजतन्त्रका बारेमा उहाँले २०१७ साल पुस १ गतेको कदम दक्षिणपन्थी राष्ट्रवादी कदम भएको बताउनुभयो ।
२०४६ साल र २०६३ सालको परिवर्तनसँगै विदेशी हस्तक्षेप बढेको र माओवादी आन्दोलनले पनि विदेशीको भारी बोकेको मैनालीले आरोप लगाउनु भयो । मैनालीले भन्नुभयो, ‘राष्ट्रवादी, कम्युनिष्ट, लोकतन्त्रवादी वा जुनसुकै विचारका भएपनि देशभक्तहरु मिल्नुपर्ने देखिन्छ । तबमात्रै यो मुलुकको उद्धार हुन्छ ।’
मैनाली पछि शुभकामना दिन मञ्चमा पुग्नु भएका प्रचण्डले एमालेको महाधिवेशनको आलोचना गर्दै मैनाली माथि खनिनु भयो । उहाँले मैनालीलाई व्यंग्य गर्दै प्रश्न गर्नुभयो, राप्रपाको अध्यक्ष बन्न लागेको हो ?
उहाँले भन्नुभयो, ‘राजतन्त्र निरंकुश भएकोले हटाउनुपर्छ भनेर टाउको काट्ने आन्दोलनको सुरुवात सीपी मैनालीजीहरूले नै गरेको हो । अहिले आएर राजा महान् भन्दिनु भो । मलाई लाग्यो सीपीजी राप्रपाको अध्यक्ष बन्न पो खोजेको हो कि ? हो भने शुभकामना छ ।’












