२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडी बोकेर काठमाडौं पुर्‍याउने वाइबाको निधन



अ+ अ-

हेटौडा । त्रिभुवन राजपथ निर्माण हुनुअघि भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्‍याउनेमध्येका एक जुक्तबहादुर वाइबाको निधन भएको छ । मकवानपुरको भीमफेदीबाट गाडी बोकेर काठमाडौं लगिँदै र गाडी बोक्नेमध्येका एक थाहा नगरपालिका-५ तसरका ९३ वर्षीय जुक्तबहादुर वाइबा । दमका बिरामी ९३ वर्षीय वाइबाको सोमबार बिहान थाहा नगरपालिका ५ तसरस्थित घरमा निधन भएको हो । उनलाई उपचार गर्न माघ १० मा काठमाडौं लगिएको थियो । उपचारपछि शनिबार घर ल्याइएको थियो । ‘दमको रोगी हुनुहुन्थ्यो, कम भयो भनेर काठमाडौंबाट ल्याएको तीन दिनमै मृत्यु भयो,’ स्थानीय चमेली वाइबाले भनिन् ।

वाइबा गाडी बोक्न छाडेपछि गाउँमा धामीझाँक्री गरेर बसेका थिए । घरमा आएका बिरामीलाई ढ्याङग्रो ठोकेर झारफुक गरेर पठाउँथे । हिँड्न नसक्ने बिरामीलाई उनीहरूका घरमै गएर सेवा दिन्थे । युवा अवस्थामा उनका काँधमा गाडीको नोल बस्थ्यो, पछि ढ्याङग्रो बस्ने गरेको थियो । धामीझाँक्री भए पनि उनलाई गाउँका सबैले गाडी बोक्ने ‘भरिया वाइबा’ भन्ने गर्थे । वाइबा नयाँ पुस्ताका निम्ति जिउँदो इतिहास थिए । अहिले गाडीले मान्छे बोक्छ, त्यतिबेला मान्छेले गाडी बोक्थे भन्ने इतिहासको उनी जीवितपात्र थिए । वाइबाले भीमफेदीबाट १६ वर्षको उमेरदेखि गाडी बोक्न सुरु गरेका थिए । नाइकेले उनलाई अग्लो र बलियो देखेर गाउँबाट छानेर लगेका थिए । ६ फिट अग्ला वाइबाले सानाठूला गरेर सयभन्दा बढी गाडी बोकेर काठमाडौं पुर्‍याएका थिए ।

पहिलो पटक भीमफेदीबाट सानो गाडी नोल लगाएर ८/८ जना गरी ३२ जनाले ७ दिनमा थानकोट पुर्‍याएको उनलाई सम्झना थियो । भेटको सुरुमै उनी त्यही कुरा सबैलाई सुनाउँथे । त्यतिबेला उनले ५ रुपैयाँ ज्याला पाएका थिए । त्यसमध्ये तीन रुपैयाँ बाटामा खाना र खाजामा खर्च गरे र दुई रुपैयाँ घरमा बुझाएका थिए । दुई रुपैयाँ घरमा बुझाउँदा सबै खुसी भएको घटना उनले तीन वर्षअघि सञ्चारकर्मीलाई हाँसी हाँसी सुनाएका थिए । गाडी बोक्दा परालको चप्पल लगाउने बानी परेका वाइबालाई अरू खालका चप्पल र जुत्ता लगाउँदा असजिलो हुने गरेकाले उनी गाउँमा जुत्ताचप्पल लगाउँदैनथे ।

नातिले बजारबाट किनेर ल्याएको प्लास्टिकको चप्पल लगाउँदा वाइबा आँगनमै लडेका थिए । त्यसपछि उनले प्लास्टिकको चप्पल लगाएनन् । परालको चप्पल बुनेर लगाउनलाई नातिहरूले दिएनन् । त्यसैले उनी नाङ्गै खुट्टा हिँडे । गाडी बोक्दा चिप्लिनेडरले सबै भरिया परालको चप्पल लगाउने गर्थे । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।