काठमाडौं । नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गर्नु भएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिनु भएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतहः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिनु भएको हो ।
मंगलबार चितवनको सौराहामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएलगत्तै उहाँले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा आफूले केन्द्रिय कमिटीको सदस्यको लागि उम्मेदवारी नदिएको दोहोर्याउँदै त्यसमा सपथ लिन नसक्ने पनि स्पष्ट पार्नु भयो । अध्यक्षका उम्मेदवार रावलले भन्नु भयो, ‘मैले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको छैन । र अध्यक्ष पदमा विजय भए सपथ लिन्छु । अरुमा त मैले भेरेकै छैन भन्ने कुरा मेरो यथावत छ ।
अव प्रतिनिधिहरुले मत दिएनन भने त कमिटी बाहिर बस्ने कुरा त सामान्य नै हो नि, मेरो लागि । त्यो त केही छैन ।’
रावलले पार्टीको आठौं महाधिवेशनमा पनि आफूले केन्द्रिय सदस्यमा उम्मेदवार नदिएकाले सपथ नलिएको पनि स्मरण गराउनु भयो । उहाँले महाधिवेशनको मत परिणाम २ घण्टा भित्रै आउने आफूले अपेक्षा गरेको पनि बताउनु भयो । रावलले निवर्तमान अध्यक्ष ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो ।












