२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियाबाट सबै अमेरिकी सैनिक फिर्ता हुँदैनन् – बोल्टन



अ+ अ-

जेरुसलेम । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सिरियामा तैनाथ अमेरिकी सेनाको फिर्तीका बारेमा विभिन्न पक्षसँग वार्ता शुरु भएको बताउनुभएको छ । उहाँले अमेरिकी सैनिक फिर्ती अघि सहयोगी मुलुकहरुको चासोलाई अमेरिकाले सुनिश्चित गर्ने स्पष्ट गर्नुभयो ।

इजरायल भ्रमणका क्रममा बोल्टनले व्यक्त गरेका धारणाले अमेरिकी सैनिक फिर्तीमा ढिलाइ हुने सङ्केत दिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले डिसेम्बर १९ मा सिरियामा तैनाथ दुई हजार अमेरिकी सैनिक तत्कालै फिर्ता हुने घोषणा गर्नुभएको थियो । अमेरिकी घोषणापछि सिरिया द्वन्द्वमा रहेका अमेरिकी गठबन्धनका मुलुकहरुले चिन्ता व्यक्त गरेका थिए ।

राष्ट्रपति ट्रम्पको उक्त घोषणासँगै त्यसप्रति असहमति जनाएर रक्षामन्त्री जिम म्याटिसले राजीनामा दिइसक्नुभएको छ ।

चौतर्फी विरोधपछि ट्रम्प आफैँले निश्चित समयावधिमा आफ्ना सैनिकहरु विस्तारै अमेरिका फिर्ता हुने बताउनुभएको छ । राष्ट्रपतिका सुरक्षा सल्लाहकार बोल्टनले सैनिक फिर्ता हुनुअघि कतिपय शर्तमाथि विचार गरिने बताउनुभयो ।

“हामीले राष्ट्रपतिको निर्णयमाथि छलफल गरिरहेका छौं । उत्तरपूर्वी सिरियामा आइसीस पराजित भइसकेकाले त्यहाँबाट सैनिक फिर्ता हुन सक्छन् । यहाँ अब आइसीसबाट कुनै खतरा छैन,” इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूसँगको भेटमा बोल्टनले भन्नुभयो ।

“इजरायल र हाम्रा अरु मित्रराष्ट्रहरुको सुरक्षाको भरपर्दो स्थिति बन्नु पर्दछ । साथै आइसीस र अरु आतङ्कवादी समूहसँग हामीसँगै लडेकाहरुलाई हामीले विशेष ध्यान दिनु आवश्यक छ ।”

इजरायलले मुख्य रुपमा अमेरिकी सैनिक फिर्ती बारे गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ । इरान समर्थित लडाकूहरुले सिरियाको बाटो हुँदै इजरायलमाथि आक्रमण गर्ने खतरा रहेको इजरायलको भनाइ छ ।

प्रधानमन्त्री नेतान्याहूले सिरियामा रहेका इरानी लडाकूहरु विरुद्धको कारबाहीलाई निरन्तरता दिइने बताउनुभएको छ ।

इजरायलले सिरियामा रहेका इरानी सैनिक पोस्टलाई लक्षित गरी सैयौं हवाई हमला गरेको छ । सिरियामा रहेका हेजबोल्लाह समूहलाई तेहरानले आधुनिक हातहतियार सहित आर्थिक, प्राविधिक र राजनैतिक मद्दत गरिरहेको बताइन्छ ।

एनबिसी टेलिभिजनसँग कुरा गर्दै बोल्टनले कुर्दिस गठबन्धनको सुरक्षालाई प्रत्याभूति नगरी अमेरिकी सैनिक फिर्ता नहुने बताउनुभएको छ । उहाँले सबै दुई हजार अमेरिकी सैनिक तत्काल फिर्ता नहुने पनि स्पष्ट गर्नुभयो ।

उहाँले उत्तरपूर्वी सिरियामा तैनाथ अमेरिकी सेना पहिलो चरणमा फिर्ता हुने बताउनुभयो । सिरियाको दक्षिणस्थित अल–तान्फ सैन्य अखडामा रहेका केही सैनिक तत्काल फिर्ता नहुने उहाँले स्पष्ट गर्नुभयो ।