२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परम्परागत नेपाली बाजा लोप हुँदै



अ+ अ-


गलेश्वर । रैथाने सीप र स्थानीय निर्माण सामग्रीको प्रयोग गरी बनाइने पराम्परागत नेपाली बाजाहरु लोप हुँदै गएपछि म्याग्दीको लोक संस्कृति सङ्कटमा पर्न थालेको छ ।

नयाँ पुस्ता पश्चिमा गीत सङ्गीतको प्रभावमा पर्नु र पुरानो पुस्ताले ज्ञान हस्तान्तरण गर्न नसक्नु जस्ता कारणले रैथाने सीप र स्थानीय निर्माण सामग्री प्रयोग गरी बनाइने मादल, मुरली, बाँसुरी, खैंजडी, डम्फू, मौरीबाजा, सारङ्गी, पियानोजस्ता बाजाहरु लोप हुँदै गएका हुन् । कुनै बेला खुबै रुचाइने नेपाली मौलिक परम्परागत बाजाहरु क्रमशः हराउँदै गएपछि मौलिक धुन पनि हराउँदै गएकामा लोकगीत र लोकसङ्गीतका पारखीहरुले चिन्ता व्यक्त गरेका छन् ।

बेनी बजारका गीतकार÷गायक तथा संगीतकार सञ्जय श्रेष्ठले नयाँ पुस्ता गिटार, ड्रमसेट, किबोर्डजस्ता पश्चिमेली बाजाहरुको प्रभावमा पर्दै गएपछि परम्परागत नेपालीबाजा लोप हुँदै गएको र मौलिक धुन पनि हराउँदै गएको बताउनुहुन्छ । शहरी क्षेत्रमा मात्र नभएर अहिले जिल्लाका ग्रामीण क्षेत्रमा पनि विवाह, ब्रतबन्ध, पूजाआजालगायत अन्य चाडपर्वमा बजाइने परम्परागत बाजाहरुको सट्टा अहिले आधुनिक बाजाहरुको प्रयोग हुन थालेको छ ।

नेपाली मौलिक बाजालाई विदेशी बाजाको प्रभावले विस्तारै ओझेलमा पार्न थालेको बताउँदै श्रेष्ठले परम्परागत बाजाको प्रयोग घट्दै गएकाले म्याग्दीको लोक संस्कृतिमाथि पनि सङ्कटको अवस्था उत्पन्न भएको बताउनुभयो । ‘‘म्याग्दीको पहिचान बोकेका यानीमाँया, ख्याली, सालैजो जस्ता गीतहरु गाउँदा बजाइने बाजाहरु अहिले पाइनै छोडेका छन्’’ सङ्गीतकार श्रेष्ठले भन्नुभयो–‘‘आयातित पश्चिमी बाजाहरु प्रयोग गरेर यस्ता गीतहरु गाउँदा न गीतको मर्म भेटिन्छ न त धुन र स्वरमा नै मीठास पाइन्छ ।’’

नेपाली लोकभाकामा अत्याधिक बज्ने मादल अहिले आधुनिक बाजा भित्रिएसँगै सङ्कटमा पर्दै गएको म्याग्दीका युवा गायक तथा हास्य कलाकार रवि कार्की बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘यसले हाम्रो पहिचान र मौलिकपनालाई ओझलमा त पारेको छ नै, सँगसँगै यी बाजा बनाउनेहरुको जीविकोपार्जनमा समेत समस्या पर्न थालेको छ ।’’

पुर्खादेखि नै मादल बनाउने पेशामा संलग्न भकिम्ली चिनाखेतका धनवहादुर विक अहिले यो पेशाबाट मात्र गुजारा चलाउन समस्या भएपछि मादल बनाउन छोडेर डकर्मीको काममा लागेको बताउनुभयो । २५ वर्ष अघिसम्म मादलको राम्रै व्यापार भएपनि अहिले यो पेशाले जिउन समस्या परेको कारण पेशा परिवर्तन गर्नुपरेको उहाँको भनाइ रहेको छ ।

मादलका अलावा नेपालीको अर्को मुख्य बाजा सारङ्गीको पनि अवस्था अहिले उस्तै रहेको छ । ९ बर्षको उमेर देखि सारङ्गी बजाउने पेशाकै रुपमा लिएका दिलबहादुर गन्धर्वलाई अहिलेको अवस्थाले निकै बिरक्त बनाएको छ ।
‘‘नौ वर्षको उमेरमा सारङ्गी भिरेर घरबाट निस्केको हुँ, १०–१२ वर्ष अघिसम्म त सारङ्गी बजाएर गाउँघर डुल्दा खुब मानमनितो हुन्थ्यो, पैसा र अन्न पनि राम्रै पाइन्थ्यो’’ ५४ वर्षीय दिलबहादुर गन्धर्वले भन्नुभयो–‘‘अहिले त समय फेरियो, मान्छेले सुन्ने चाहँदैनन् ।’’

सारङ्गी बजाएर र गीत गाएर गुजारा नचल्ने भएपछि गन्धर्व समुदायमा विस्तारै आकर्षण घट्न गएको छ । यस्ता बाजाहरु बनाउनेले पनि विस्तारै बनाउन छाडेकाले भोलि नयाँ पुस्ताले यी परम्परागत बाजा र गीतसङ्गीत हेर्न र सुन्न कठिन हुने अवस्था आउन नदिन देशको मौलिकता झल्किने यस्ता सम्पदाहरुको संरक्षण र सम्बद्र्धनमा समयमै ध्यान दिनु आवश्यक छ । रासस