२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको नयाँ संविधान दुई तिहाइ बढी मतले पारित



अ+ अ-

काठमाडौँ, भदौ ३० । संविधानसभाले ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ लाई दुईतिहाईभन्दा बढीमतले बुधबार पारित गरेको छ ।

संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रस्तुत गरेको सो प्रस्तावलाई बैठकले मत विभाजन प्रक्रियाद्वारा  पारित गरेको हो ।

हाल  संविधानसभामा तत्काल कायम रहेको ५९८ सङ्ख्यामध्ये विधेयकको  पक्षमा ५०७ मत परेको थियो । विपक्षमा भने  २५ मत परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सभासद्ले विपक्षमा मतदान गरे ।

संविधानसभामा बुधबार भएको मतदान प्रक्रियामा ५३२ सभासद्ले भाग लिएका थिए । दुई तिहाइ बहुमतका लागि ३९९ मत आवश्यक पर्दथ्यो ।

संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सङ्ख्या ३१ रहेकामा  त्यसमध्ये  १०  राजनीतिक दल  र एक जना स्वतन्त्र सभासद् चन्द्रेश्वर झा संविधानसभा बाहिर  छन् ।

सङ्घीय समाजवादी फोरम नेपालका १५,  मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका १४, तराई मधेस लोकतान्त्रिक पार्टीका ११,  सद्भावना पार्टीका ६, नेपाल सद्भावनाका १ , तराई मधेस सद्भावना पार्टीका ६,  थरुहट तराई पार्टीका २, राष्ट्रिय मधेस समाजवादी पार्टीका ३, जनअधिकार फोरम गणतान्त्रिकका १, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका (थरुहट) १ सभासद् हालको संविधानसभाको प्रक्रियाबाट बाहिरिएका छन् ।

संविधानसभामा ६०१ सभासद् रहने संवैधानिक व्यवस्था रहेकामा मन्त्रिपरिषद्बाट मनोनित हुन २ जना बाँकी रहेको तथा पूर्व प्रधानमन्त्री एवं सभासद् सूर्यबहादुर थापाको निधनपछि राप्रपाका एक जना सभासद् मनोनयन हुन सकेको थिएन ।

सभामा मतदानपछि सभासद्हरु एक आपसमा खुुसी साटासाट गर्नुका साथै शीर्षनेतासँग मोबाइलबाट फोटो खिच्ने काममा व्यस्त थिए । साँझ ७ः३० बजे प्रारम्भ भएको पछिल्लो बैठकमा मतदानको कार्य भने राति ८ः३० सम्म चलेको थियो ।

विधेयक पारित भएको खुशीयालीमा अधिकांश सभासद् खुसी देखिन्थे भने संविधानसभा अध्यक्ष नेम्वाङको मुहारमा पनि विशेष चमक देखिन्थ्यो ।

संविधानसभाको अर्को बैठक आगामी असोज ३ गते अपराह्न ५ बजे बस्ने छ ।