२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिमा मधेशी महिलाको अवस्था



अ+ अ-

विश्वभरि नै राजनीतिमा महिलाको उपस्थिति/सकृयता न्यून रहने गरेको छ । विश्वको सबैभन्दा विकसित भनिने र लैङ्गिक समानताको वकालत गर्ने संयुक्त राज्य अमेरिकामा समेत महिलाहरू राजनीतिमा कम मात्र अगाडि आउने गरेका छन् । अमेरिकामा हालसम्म एक जना पनि महिला राष्ट्रपति भएको इतिहास छैन । विकसित राष्ट्रमध्येकै एक संयुक्त अधिराज्यमा भने राष्ट्र प्रमुख महारानी एलिजाबेथ छिन् । साथै त्यहाँ सरकार प्रमुखको रूपमा श्रीमती मार्गे्रट थ्याचर प्रधानमन्त्री भइसकेकी छिन् । आश्चर्यजनक यथार्थ के छ भने विकसित भनिएका पश्चिमा राष्ट्रहरूले अविकसित र महिला विरूद्धको भेदभाव बढी भएको भनेर आक्षेप लगाउने गरेको दक्षिण एसिया क्षेत्रका राष्ट्रहरूमा महिलाहरू राजनीतिक उच्च ओहदामा पटक पटक पुगेका छन् ।

यस क्षेत्रमा भारत, पाकिस्तान, म्यानमार, बांग्लादेश, र श्रीलंकामा पटक–पटक महिलाले राष्ट्र प्रमुख र सरकार प्रमुखको भुमिका निर्वाह गरेका छन्, भने नेपालमा पनि महत्वपूर्ण जिम्मेवारीमा महिलाहरू पुगेका छन् । यसमध्ये पनि पाकिस्तान र बांगलादेश ईस्लामिक देश हुन जहाँ महिलामाथि चरम भेदभाव रहेको आरोप लाग्ने गरेको छ । ऐतिहासिक रूपमा पनि भारतीय उपमहाद्विपका विभिन्न राज्यहरूमा समय–समयमा विभिन्न रानी÷महारानीहरूले राज गरेका छन् । यसरी विश्लेशण गरेर हेर्दा विकसित राष्ट्रहरू भन्दा दक्षिण एसियाली राष्ट्रहरूमा पहिलेदेखि नै महिला नेतृत्व बढी सकृय र स्वीकार्य रहेको स्पष्ट हुन्छ ।

नेपालको राजनीतिमा प्रजातन्त्र प्राप्तिको आन्दोलनको शुरूवातदेखि नै महिलाहरूको उपस्थिति रहेको पाइन्छ । प्रजातन्त्र स्थापना पछी डडेल्धुराकी द्वारिका देवी ठकुरानी नेपालको पहिलो महिला मन्त्री भएकी थिइन् । ध्यान दिनुपर्ने विषय के छ भने डडेल्धुरा अझै पनि महिलामाथि भेदभाव बढी हुने र महिलाको अवस्था दयनीय रहेको जिल्लामा पर्छ । द्वारिका देवी ठकुरानीका साथै, साहना प्रधान, मंगला देवी, शैलेजा आचार्य, आदी २००७ साल यताको नेपाली राजनीतिमा जिवनपर्यन्त सकृय रहेका नामहरू हुन । तथापी नेपाली राजनीतिमा महिलाहरूको उपस्थिति न्यून नै रह्यो । नेपाली राजनीतिमा प्रवेश गर्ने अधिकांश महिलाहरूले बिचमै राजनीतिबाट अवकाश लिने वा हराउने गरेका छन् ।

मधेशको राजनीतिमा पनि केही महिलाहरू सुरूदेखि नै सकृय रहे पनि कमले मात्र निरन्तरता दिएका छन् । निरन्तरता दिनेहरू पनि नेतृत्व तहमा पुगेको कमै मात्र उदाहरण छ । २०४७ सालमा मधेशको मुद्दालाई अगाडि सार्दै सद्भावना परिषदबाट नेपाल सद्भावना पार्टीमा परिणत भएपछी पार्टीमा सकृय भएकी निलम वर्मा फोरम नेपाल हुँदै अहिले राष्ट्रिय मधेश समाजवादी पार्टी कीे उपाध्यक्षको रूपमा सकृय छिन् । सोही ताका नेपाल सद्भावना पार्टी प्रवेश गरेकी कपिलवस्तुकी अम्रिता अग्रहरी लामो समय मधेश राजनीतिमा चर्चाको केन्द्रमा रहेर निष्कृय भइन् । २०४८ सालमा सद्भावना प्रवेश गरेकी चन्द्रकला कुशवाहा हाल सदभावना पार्टीमा केन्द्रिय सदस्य छिन् । सोही ताका नेपाल सद्भावना पार्टीबाट राजनीति शुरू गर्ने धनुषा की चन्दा साह, देवता साह लगायतका राजनीतिबाट निष्कृय भए । यसैगरी, नेपाल सद्भावना पार्टीबाटै २०५२ सालमा राजनीति सुरू गरेकी सुनसरीकी कान्ती मिश्र, बिन्दु श्रिवास्तव का साथै विभिन्न समयमा सद्भावनाबाट मधेश राजनीतिमा प्रवेश गरेका विमला सिंह कुशवाहा, धनुषाकी विभा ठाकुर, सिता देवी राय, निला साह, झापाकी उषा राजवंशी, सदभावना महिला मञ्चको उपाध्यक्ष समेत भईसकेकी सुनसरीकी मञ्जु भगत, विभिन्न आन्दोलनमा सकृय भुमिका निर्वाह गरेकी रूपन्देहीकी नुरजहाँ राष्ट्रिय सद्भावना पार्टीको सह–अध्यक्ष र तराई मधेश सद्भावना पार्टी नेपाल की उपाध्यक्ष समेत भई सकेकी गौरी महतो कोईरी मधेश राजनीतिमाबाट निष्कृय भएका महिलाहरूको उदाहरण मात्र हो । २०६२÷६३ अगाडि नेपाल सद्भावना पार्टीबाट राजनीति शुरूवात गरेर हालसम्म सकृय रहेका महिलाहरूमा २०५० सालमा राजनीतिमा सकृय भएकी सप्तरीकी मन्जु अन्सारी हाल फोरम नेपालमा छिन् । त्यसै गरी झापा की द्रोपदी गणेश जिल्ला सदस्य, महिला मञ्चको सदस्य हुँदै हाल सद्भावना पार्टीको केन्द्रिय सदस्यको रूपमा रूपमा सकृय छिन् । त्यसै गरी सद्भावनाबाटै राजनीति शुरू गरेकी चन्दा चौधरी हाल तमलोपाको केन्द्रिय सदस्य छिन भने आशा चतुर्वेदी फोरम लोकतान्त्रिकको केन्द्रिय सदस्य छिन् । त्यसैगरी, राधा कायस्थ, हाल सद्भावना केन्द्रीय सदस्य छिन् । सद्भावनाबाटै राजनीति सुरू गरेकी र अवसर आउँदा सकृय हुने ममता झा विभिन्न पार्टी हुँदै फेरी सद्भावना पार्टीबाटै निष्क्रिय भएकी छिन् ।

२०६२÷६३ पछी मधेश विद्रोह र समानुपातिक निर्वाचन प्रणालीले ल्याएको अवसरका कारण धेरै महिलाहरू राजनीतिमा सकृय भएर उदाए, साथै विभिन्न पदमा समेत आसिन भए । तर विगत ७ वर्षको अवधिमा तीमध्ये पनि धेरै निष्कृय हुँदै गएका छन् । मधेश आन्दोलनबाट उदाएकी पर्साकी करिमा बेगम फोरम नेपालको केन्द्रिय सदस्य, सभासद हुँदै राज्य मन्त्रीसम्म भइ हाल फोरम नेपालमै महिला संगठनमा सकृय छिन् । समानुपातिक निर्वाचन प्रणाली र समावेशिताको सिद्धान्तको आधारमा पहिलो संविधानसभामा सभासद् र पछि क्रमशः सहायक र राज्यमन्त्री भएकी कलावती दुसाध र रमनी राम चमार पहिलो संविधानसभा विघटनपछि निष्कृय भए । हाल मधेशको राजनीतिमा लामो समयदेखि सकृय अन्य महिलाहरूको कुरा गर्दा तमलोपा की केन्द्रीय सदस्य पुष्पा ठाकुर, तमलोपाबाट राजनीति सुरू गरेर हाल फोरम लोकतान्त्रिक केन्द्रीय सदस्य रहेकी शेख चाँदतारा, सदभावना की निभा साह तथा नेपाली काँग्रेसबाट राजनीति शुरू गरेर राप्रपा हुँदै हाल फोरम नेपाल की कोषाध्यक्ष रेणु यादव आदिको नाम उल्लेख्य छ ।

यसरी हेर्दा मधेश राजनीतिमा विभिन्न समयमा प्रशस्त महिलाहरू प्रवेश गरेको देखिन्छ, तर तीमध्ये धेरै जसोले बिचमै राजनीति छोड्ने वा निष्कृय हुने गरेको देखिन्छ । केही महिला मात्र लामो समयसम्म मधेश राजनीतिमा सकृय रहेका छन् । एक दशकभन्दा लामो समय देखि निरन्तर राजनीतिमा सकृय महिलाको कुरा गर्दा हाल सद्भावनामा राधा कायस्थ, चन्द्रकला कुशवाहा, द्रोपदी गणेश, फोरम नेपालमा रेणु यादव, फोरम लोकतान्त्रिकमा आशा चतुर्वेदी, राष्ट्रिय मधेश समाजवादीकी उपाध्यक्ष निलम वर्मा र तमसपामा म अफै लगायतका औंलामा गन्न सकिने मात्र छन् । मधेश राजनीतिमा मधेशी महिलाहरूको संख्या न्यून हुनु वा तिनीहरूको पलायन हुनुको पछाडिका कारणहरूको विश्लेषण गर्दा महिलालाई राजनीति गर्न समस्या महिलाको घरबाट सुरू भएर टोल छिमेक समाज हुँदै पार्टी नेतृत्वसम्म यसको कारणका रूपमा देखिन्छन् । पुरूषसत्तात्मक समाजमा राजनीतिमा लाग्न परिवारबाट लगभग विद्रोह गर्नुपर्ने अवस्था छ जुन निश्चय नै सहज छैन । नगण्य परिवारले मात्र आप्mना छोरी, बुहारी वा पत्नीलाई राजनीतिमा लाग्न सहयोग गर्छन् । फेरि कुनै महिला जब राजनीतिमा अगाडि बढ्न थाल्छे, घर भित्रैका पुरूषहरूको अहम (इगो)मा ठेस पुग्न थाल्छ, र परिवामा कलह सुरू हुन्छ । परिवारको सहमतिबाट निस्किए पनि समाजले त्यो महिलालाई विभिन्न थरिका आक्षेप लगाउन सुरू हुन्छ । त्यतिमात्र होइन् राजनीतिक कार्यकर्ता र नेताहरूसमेत महिलाप्रति त्यति सहिष्णु छैनन् । राजनीतिको तल्लो तहदेखि नै भेदभावको सुरूवात हुन्छ । समावेशीकरणको अवधारणाले महिलाका लागि केही अवसर सिर्जना गरे पनि ती अवसर महिला राजनीतिक कार्यकर्ताले थोरै मात्र पाउने गरेको पनि यथार्थ हाम्रो सामुन्ने छ । वर्षौं परिवार, समाज र सहकर्मीको भेदभाव र कठिनाई भोगेर राजनीतिमा सकृय महिला तब निराश हुन्छे जब महिला समावेशीको नाममा आउने अवसर नेतृत्व पंक्तीका श्रीमती, नजिकका नातेदार वा कुनै बाहुबली नेताको सट्टा राजनीतिमा केही योगदान नभएको नातेदारले पाउँछन् । यसको उदाहरण हेर्न दोस्रो संविधानसभामा समानुपातिक निर्वाचनमा पार्टीहरूले सभासद् बनाएर पठाएको सूची हेरे पुग्छ । तमलोपाले कार्यकर्तालाई पछाडि पार्दै पार्टी अध्यक्ष महन्थ ठाकुरकी सम्धीनीलाई सभासद् बनायो । त्यस्तै, संघीय सद्भावनाबाट कुनै राजनीतिक अनुभव नभएकी डिम्पल झा र सद्भावनाबाट सामान्य राजनीतिक अनुभव भएकी शयल महतो अध्यक्षको पत्नी भएकै कारण सभासद् भए । फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले समेत कुनै राजनीतिक अनुभव नभएको आप्mनी पत्नीलाई सभासद् बनाए । तमसपा नेपालबाट एक मात्र महिला सभासद् अमेरिका देवी कुनै राजनीतिक अनुभव नभएपनि चुनाव हारेका उनका देवर शिवपुजन यादवको दबाव पार्टी नेतृत्वले झेल्न नसकेको कारण सभासद् भइन ।

अन्त्यमा मधेश राजनीतिमा महिलाको न्यून संख्यामा सुधार गर्न तथा मधेशको राजनीतिबाट महिलाको पलायन न्यूनीकरण गर्न सबभन्दा पहिले महिलाहरूले आप्mनो सोच परिवर्तन गरी आत्मबल बढाउन आवश्यक छ । दोस्रो परिवार र समाजको सोच परिवर्तन हुन जरूरी छ । परिवार र समाज महिलाको राजनीतिमा समावेशिता प्रति केही उदार मात्र भईदिए पनि महिलालाई राजनीति गर्न र टिक्न निकै सहज हुनेछ । तेस्रो कुरा राजनीतिमा रहेका पुरूष सहकर्मीहरूको व्यवहार र दृष्टिकोणमा सकारात्मक परिवर्तन जरूरी छ । प्रत्येक मधेशवादी दलभित्र महिला सम्बन्धमा अभिमुखिकरण कार्यक्रमहरूको व्यापक रूपमा संचालन गरिनु पर्दछ । चौथो, नेतृत्व पंक्तीले पार्टीमा आउने अवसरमा आप्mना निकटका नातेदार वा बाहुबलीहरूको दबावमा राजनीतिमा कुनै अनुभव नभएकालाई पठाउने भन्दा कार्यकर्ता मध्येबाट उत्कृष्टलाई पठाउन पहल गर्नु पर्दछ । साथै आम कार्यकर्ताबाट समेत नेतृत्वलाई दबाव कायम राखिनु पर्दछ । पाँचौ, सञ्चार माध्यमहरूले समेत महिला राजनीतिकर्मीहरूलाई प्रोत्साहन गर्दै आप्mना कार्यक्रम तथा प्रशारण÷प्रकाशन हुने सामाग्रीहरूमा उचित स्थान दिनु आवश्यक छ । माीका पाँचवटा विषयमा पहल मात्र थालिएमा पनि मधेश राजनीतिमा महिलाको उपस्थिति र स्थायित्वमा सकारात्मक परिवर्तन हुनेछ ।