२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा प्रवेशद्वारको हालत : हिउँदमा धुलाम्य, वर्षामा हिलाम्य



अ+ अ-

पोखरा । पर्यटकीय नगरी पोखराको मुख्य प्रवेशद्वार पृथ्वी राजमार्गको दुलेगौंडादेखि कोत्रेसम्मको सडकखण्ड लामो समयदेखि बिग्रँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । लामो समयदेखि यस खण्डमा सडक बिग्रेभत्के पनि त्यसतर्फ सम्बन्धित निकायको चासो पुग्न नसकेको यस क्षेत्रका बासिन्दाको गुनासो छ ।

पर्यटकीय नगरी पोखरा प्रवेश गर्ने सडक नै अस्तव्यस्त बनिरहँदा यसले समग्र पोखराको पर्यटनमा नकारात्मक असर पार्ने सरोकारवाला बताउँछन् । पोखरा छिर्ने मुख्य सडकखण्ड बिग्रँदा त्यसले यहाँ आउने जो कोहीमा नराम्रो छाप पार्ने गरेको नेपाल पर्यटन बोर्डका पूर्वसदस्य एवम् वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई बताउनुहुन्छ । “पृथ्वीराजमार्गको यस सडक खण्ड हुँदै लामो समय पोखरा आवतजावत गर्ने पर्यटकले वर्षौसम्म पनि यस सडक खण्डको स्तरोन्नति हुन नसकेकामा प्रश्न गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “पोखराकै प्रवेशद्वार कोत्रे सडकखण्डले सरोकारवाला जो कोहीलाई गिज्याइरहेको छ ।”

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग सकिएको अवस्थामा पनि पोखरासँग जोडिएका सडक राम्रो बन्न नसक्नुले समग्र पर्यटनमा दिने सङ्केत राम्रो नहुने जनाउँदै उहाँले यसतर्फ चाँडै नै सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने बताउनुभयो । चार वर्ष लगाएर विमानस्थल बन्दै गर्दा त्यहाँ गरिएको राज्यको ठूलो लगानीलाई प्रतिफलयुक्त बनाउनका लागि पनि जोडिएका सडक पूर्वाधारलाई व्यवस्थित गर्नु जरुरी रहेको उहाँको भनाइ छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा जोडिएका सडक अस्तव्यस्त नै रहने हो भने तनहुँ, गोरखा, लम्जुङलगायत स्थानका सर्वसाधारणले आगामी दिनमा पोखरा विमानस्थलभन्दा पनि अन्यलाई नै रोज्ने अवस्था आउनेतर्फ पनि बेलैमा सोच्न जरुरी रहेको अर्का पर्यटन व्यवसायी एवम् पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुहुन्छ । पोखराको प्रवेश गर्ने मार्ग नै वर्षामा हिलाम्य र हिउँदमा धुलाम्यको अवस्थामा रहनु चिन्ताको विषय भएको जनाउँदै उहाँले यसतर्फ सम्बद्ध सरोकारवाला निकायको ध्यान पुग्नु जरुरी रहेको बताउनुभयो ।

लामो समयसम्म अस्तव्यस्त बनिरहेको सडकलाई चाँडो व्यवस्थित गर्न गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर निर्देशन दिइसकेको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमालले बताउनुभयो । “गण्डकी प्रदेशको राजधानी प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको यो सडकखण्ड अस्तव्यस्त बन्नु गम्भीर चिन्ताको विषय हो”, उहाँले भन्नुभयो, “यस सम्बन्धमा मुख्यमन्त्री स्वयंले चासो दिएर यथासक्य चाँडो यसलाई व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइसक्नुभएको छ ।”

मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख अमित श्रेष्ठले यस सडक खण्डको स्तरोन्नति प्रक्रिया अघि बढेको जानकारी दिँदै दुलेगौडा–कोत्रे खण्डलाई तत्कालीन रुपमा व्यवस्थित गराउनका लागि सम्बद्ध निर्माण कम्पनीलाई निर्देशन दिइसकिएको बताउनुभयो । दुलेगौडा–कोत्रे सडक खण्ड पृथ्वीराजमार्गमा पर्नाका साथै पोखराबाट दमौली र दमौलीबाट पोखरासम्म ठूलो सङ्ख्यामा कर्मचारी तथा सर्वसाधारणसमेत दैनिक आवतजावत गर्ने भएकाले अत्यन्त व्यस्त रहन्छ । दैनिक आवतजावत गर्ने र सडक आसपासका बासिन्दा लामो समयदेखि वर्षामा हिलोे र हिउँदमा धुलो खानु परेको पीडा व्यक्त गर्दछन् ।




भर्खरै