९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्रीसमक्ष न्यूनतम पारिश्रमिक निर्धारण समितिद्वारा प्रतिवेदन पेश



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमक्ष न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकार मिडिया अध्ययन प्रतिवेदन, २०७८ र श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस, २०७८ पेश गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री कार्कीलाई समितिका अध्यक्ष राजेन्द्र अर्यालले ती प्रतिवेदन बुझाउनुभएको हो । 

प्रतिवेदन ग्रहण गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले समाजलाई गतिशील बनाउन पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले समितिले बुझाएका दुवै प्रतिवेदनलाई मन्त्रालयले अत्यन्त महत्वपूर्ण दस्तावेजका रूपमा ग्रहण गरी यसमा दिइएका सुझावको कार्यान्वयन गर्दै लैजाने आश्वासन दिनुभयो । मन्त्री कार्कीले भननुभयो, “हामी सबै एकै परिवारका सदस्य हौँ, सुझाव दिने र लिनेभन्दा पनि यस क्षेत्रमा देखिएका समस्याको आपसी समन्वयका आधारमा निकाल्न सक्छौँ ।”

सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले बढ्दो महँगी, बजार मूल्य र अन्य क्षेत्रमा कार्यरत कर्मचारीको पारिश्रमिकको आधारमा पत्रकारको पनि ५० प्रतिशत पारिश्रमिक वृद्धि गर्नुपर्ने आवश्यकता रहे पनि समितिले तत्काल २५ प्रतिशतले वृद्धि गर्न गरेको सिफारिस तत्काल वृद्धि गर्न आग्रह गर्नुभयो । उहाँले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न पनि माग गर्नुभयो । 

समितिका अध्यक्ष अर्यालले सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको पेसागत हक, हित र सेवा सुविधा तथा सुरक्षाका लागि समितिले अध्ययन गरी तयार गरेको न्यूनतम पारिश्रमिक प्रदान गर्न, समितिलाई साधन स्रोत सम्पन्न बनाई कार्याधिकारसमेत विस्तार गरी पारिश्रमिक निर्धारण तथा अनुगमन बोर्ड बनाउन आग्रह गर्नुभयो । उहाँले प्रत्येक सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकार ऐन नियमावलीअनुसार कल्याणकारी कोषको स्थापना गर्न र कोभिड प्रभावित पत्रकार, कर्मचारी तथा कामदारलाई विशेष राहत प्याकेज घोषणा गर्नसमेत अनुरोध गर्नुभयो । 

सो अवसरमा मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याललगायत उच्च अधिकृतहरु पनि उपस्थित हुनुहुन्थ्यो । श्रमजीवी पत्रकारसम्बन्धी ऐनअनुसार स्थापना भएको यस समितिको वर्तमान कार्यसमितिको दुई वर्षको कार्यकाल भोलिदेखि समाप्त हुँदैछ ।