२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक दिवसीय शृंखला नेपालले जित्यो



अ+ अ-

काठमाडौं । कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय पारीको सहयोगमा नेपालले सोमबार भएको अन्तिम खेलमा जिम्बाब्वे ‘ए’ माथि ६ विकेटको जित निकाल्दै एकदिवसीय शृंखला आफ्नो पक्षमा पारेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले जिम्बाब्वेले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य ४ विकेट गुमाएर भेटाउँदै शृंखला पक्षमा पारेको हो । अघिल्लो दिनको वर्षाका कारण मैदान भिजेकाले खेल ३३ ओभरमा छोट्याइएको थियो । पहिला ब्याटिङ गर्दै जिम्बाब्वेले ३२.१ ओभरमा सबै विकेट गुमाएर २ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङ गरेको नेपालले ३०.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । नेपालका लागि ६१ बलको सामना गरेका कुशलले ७ चौका र ४ छक्कासहित ८४ रनको महत्त्वपूर्ण इनिङ खेलेका थिए । यस्तै आशिफले ३७ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाएर पेभेलियन फर्किदा सुनील धमला ६ रनमा क्याच भएका थिए । त्यसपछि ब्याटिङमा आएका दीपेन्द्रसिंह ऐरीले सम्हालिएको प्रदर्शन गर्दै अविजित ६० रनको शानदार इनिङ खेले । नेपाली विकेटकिपर तथा ब्याट्सम्यान विनोद भण्डारीसँग चौथो विकेटका लागि अविजित ८४ रनको साझेदारी गर्दै नेपालको जित निश्चित गरेका थिए । छैटौं नम्बरमा ब्याटिङ गर्न क्रिजमा उत्रिएका विनोद २६ बलमा ३ चौकासहित २८ रन बनाएर अविजित रहे । यसअघि रोहित कुमार पौडेल गोल्डेन डक भएका थिए ।

बलिङतर्फ जिम्बाब्वे ‘ए’का लागि ब्रान्डोन माभवुताले ६ ओभरमा ४६ रन खर्चेर सर्वाधिक ३ विकेट लिँदा ब्राड इभान्सले ५ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको जिम्बाब्वे ‘ए’ ले टाडिवान्से मरुमानीको अर्धशतक मद्दतमा २ सय १३ रनको योगफल तयार गरेको थियो । ढिला गरी सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वे ‘ए’ ले ३२.१ ओभरमा सबै विकेट गुमाएर २ सय १३ रन जोडेको थियो । जिम्बाब्वे ‘ए’का लागि ओपनर मरुमानीले ३१ बलमा ७ चौका २ छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए । अर्का ओपनर इनोसेन्ट काया १४ बलमा १२ रन बनाएर पेभेलियन फर्केका थिए । यस्तै, कुद्जाई मौञ्जेले ३४ बलमा ४ चौका र २ छक्कासहित ३९ रन बनाएर आउट हुँदा रोय काया ४८ बलमा ३ चौका र १ छक्कासहित ३६ बनाएर पेभेलियन फर्के । जिम्बाब्वे ‘ए’का कप्तान टोनी मुनयोङ्गा १२ बलमा २ चौका र २ छक्कासहित २४ रनमा आउट भएका थिए । यसबाहेक जोनाथन क्याम्पबेल ३, ब्राड इभान्स ७, लुक जोङ्वे १९, ब्रान्डोन माभवुता ६ र सेफस झाओ १६ रन बनाएर आउट भएका थिए ।

बलिङतर्फ नेपालका लागि किशोर महतोले ७ ओभरमा ४३ रन खर्चेर १ मेडनसहित सर्वाधिक ५ विकेट लिए । यस्तै, सोमपाल कामीले ७ ओभरमा ४५ रन खर्चेर २ विकेट लिँदा बासिर अहमदले २ ओभरमा ११ रन खर्चिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिँदा करण केसीले ६.१ ओभरमा ४० रन खर्चेर १ विकेट लिए ।

विश्वकप लिग२ अन्तर्गत अर्काे महिना अमेरिकामा हुने त्रिदेशीय शृंखलाको तयारीमा रहेको नेपालले जिम्बाब्वे ‘ए’लाई अभ्यास खेलका लागि नेपाल भ्रमणको निम्तो गरेको हो । नेपाल भ्रमणमा रहेको जिम्बाब्वे ‘ए’सँग यसअघि खेलेको ट्वान्टी–२० शृंखला एक खेल वर्षाका कारण रद्द हुँदा १–१ को बराबरीमा सकिएको थियो । एकदिवसीय शृंखलाको पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले दोस्रो एकदिवसीयमा नेपालले ९ विकेटको शानदार जित निकालेको थियो । प्रतियोगितामा नेपालका करण केसी प्लेयर्स अफ दि सिरिज घोषित भए ।