२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकको पाँचपोखरीमा तनाव, एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप



अ+ अ-

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सा क्षेत्रमा तनाव बढेको छ । मतगणनाको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताबीच झडप भएपछि गुन्सा तनावग्रस्त बनेको हो ।

सो क्षेत्रमा दुवै पक्षबीच कुटाकुट र ढुंगामुढा भएको छ । स्थानीयवासीको अनुरोधमा झडप रोक्न अहिले सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बुधबार मतगणनाका क्रममा तीन वटा मत हराएको र चारवटा मतपत्रको अर्धकट्टी नै नभएको पाइएको थियो । त्यसपछि कांग्रेससहितका अन्य दलले पुनः मतगणना गर्नुपर्ने भन्दै मतगणना कार्य रोकेका थिए ।

विवाद बढ्दै गएपछि त्रासका कारण सहायक मतदान अधिकृत र एक गणक त्यहाँबाट सुटुक्क बाहिरिएका थिए । दुवै पक्षबीच वैमनश्य बढेपछि झडपको स्थिति भएको भन्दै प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले अहिले घटनास्थलमा सुरक्षाकर्मी खटाइएको बताए ।

विवाद बढ्दै गएपछि बुधबार नै प्रजिअ खनाल निर्वाचन अधिकारीको टोली घटनास्थलमा पुगेर विवाद मिलाएको थियो । विवाद मिलाउने क्रममा हराएका तीन वटा मतबारे सहमति कायम गरी पुनः मतगणना गरिएको थियो ।

सो वडामा एमालेका काले गोले १५ मतान्तरले विजयी बनेका छन् । त्यसपछि त्यहाँ तनावको स्थिति उत्पन्न भएको थियो । बिहीबार कांग्रेसका एक कार्यकर्ता मोटरसाइकलमा गुन्साबाट गाउँपालिका भवनतिर जाँदै गर्दा उनलाई एमालेको कार्यकर्ताको समूहले बाटो छेकी कुटपिट गरेको र मोटरसाइकलसमेत तोडफोड गरेको कांग्रेसको आरोप छ ।

सोही विषयलाई लिएर झडप भएको हो । कांग्रेसका कार्यकर्ताले पनि त्यसपछि नवनिर्वाचित गोलेको घरमा ढुंगामुढा र तोडफोड गरेका थिए । अहिले सुरक्षाकर्मी परिचालन भएपछि स्थिति केही हदसम्म शान्त बनेको छ ।