२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका विषयमा एमालेद्वारा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले प्रतिनिधिसभामा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टीतेललगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्य वृद्धिका कारण जनताको दैनिक जनजीवनलगयात व्यापार व्यवसायका क्षेत्रमा पर्न गएको असरलाई न्यूनीकरण गर्नका निमित्त तत्काल यी पदार्थको मूल्य घटाउने स्पष्ट खाका पेश गर्न सरकारलाई झकझकाउन संसद्ले पहल गर्न अत्यावश्यक भएकाले जरुरी सार्वजनिकको प्रस्ताव ल्याइएको एमालेले जनाएको छ ।

प्रस्तावमा भनिएको छ, “सरकारले पछिल्लो १० दिनभित्र यही जेठ १ गते र जेठ ९ गतेदेखि लागु हुनेगरी दुई पटक पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेर कानूनी प्रावधानको उल्लंघन र जनताको सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक अधिकार कुण्ठित गर्न सरकार उद्दत रहेको छ ।”

पेट्रोलियम पदार्थको मूल्य स्वचालित मूल्य निर्धारण कार्यविधिअनुसार नेपालमा आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य परल मूल्यबमोजिम १५ दिनमा एकपटक समायोजन गर्न सक्ने प्रावधानविरुद्ध गएर गरिएको मूल्य वृद्धि तत्काल फिर्ता सरकारसँग माग गर्न, खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टीतेललगायतका पदार्थमा भइराखेको चुहावट, कमिशन र अत्यधिक करलाई न्यूनीकरण गर्न यी पदार्थमा भएको मूल्य घटाउन सरकारले गरेको प्रयासबारे स्पष्ट खाका सरकारसँग माग गर्न लगायत कारण देखाई जरुरी सार्वजनिक महत्वको प्रस्ताव गरिएको पत्रमा उल्लेख छ ।

प्रस्ताव दर्ता गरेपछि सामाजिक सञ्जाल फेसबुकमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जनताको ढाड सेक्नेगरी प्रचलित नियम, कानून, निर्देशिका विपरित अनेकन् विकल्प हुँदाहुँदै पनि बदनियतपूर्वक गरिएको मूल्यवृद्धिको विषयमा प्रतिनिधिसभामा व्यापक छलफल गर्नेगरी प्रस्ताव दर्ता गरिएको बताउनुभएको छ ।