२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाइयो त्रिशुल जात्रा



अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्रका बालबालिकालाई राक्षसबाट बचाउन मनाउने विश्वास गरिने त्रिशुल जात्रा दुई वर्षपछि सिफल चौरमा सम्पन्न गरिएको छ । कोरोना महामारीका कारण विसं २०७७ / २०७८ मा रोकिएको जात्रा यस वर्ष भने विधिपूर्वक मनाइएको पशुपति क्षेत्र विकास कोष धर्म संस्कृति महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । प्रत्येक वर्ष आषाढकृष्ण अष्टमीका दिन मनाइने त्रिशुल जात्रा राजा नरेन्द्रदेवको पालामा सुरु भएको भनाई छ ।

स्वयम्भू एवं नागार्जुन जङ्गल क्षेत्रमा बस्ने एक राक्षसले प्रत्येक वर्ष पशुपति क्षेत्रबाट बालबालिका लगेर खान थालेपछि स्थानीयवासी आतङ्कित बने । राक्षसले पशुपतिबाट बालक लैजाने नियमितता नै बनेपछि भुवनेश्वरीका पुजारी भूमि आचार्जुका छोरा नै लगे । आचार्जुले छोरा राक्षसले लगेको थाहा पाएपछि पाटन शङ्खमूल क्षेत्रमा गई तान्त्रिक साधना गरेर अमृत लिएर नयाँबानेश्वरमा आउँदा छोरालाई मारेको केही महिलाले सुनाए ।

नयाँबानेश्वरको हाल छक्कुबक्कु मन्दिर रहेको क्षेत्रमा अमृत बिसाएर महिलालाई गाली गरेकाले त्रिशुल जात्राका क्रममा अश्लील शब्दले गाली समेत गर्ने गरेको भनाई रही आएको छ । आचार्जुले ल्याएको अमृतले बालकलाई बचाएर त्यसै वर्षदेखि पशुपति क्षेत्रमा त्रिशुल जात्रा गरी राक्षस बालबालिका लिन आएमा त्रिशुलले खोपेर आन्द्राभुँडी निकाल्ने सन्देश दिएको भनाई पशुपति क्षेत्रका संस्कृति विद् मुकुन्दराज वैद्य बताउनुहुन्छ ।

सिफलचौरबाट राक्षसलाई बालबालिकामाथि आक्रमण नगर्न खबरदारी गर्न यो जात्रा सुरु गरिएको किम्बदन्ती यस क्षेत्रमा चलेको छ । कसैले भने यो जात्रा मल्लकालदेखि चलेको बताउने गरेका छन् । यो जात्रा गरेपछि वर्षभर पशुपति क्षेत्रका बालबालिका राक्षसबाट सुरक्षित हुने विश्वास गरिन्छ ।