२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइपालका च्याङ्ग्रा पोखरामाः ‘पोखरा पुग्दासम्मको दुःख भनेर सम्भव छैन’



अ+ अ-

महेन्द्रनगर/चैनपुर । आइतबार राति बझाङको साइपालबाट भेटा/च्याङ्ग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिनुभयो ।

साइपाल हिमालको फेदबाट एक सय ७० च्याङ्ग्रा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ का उहाँ हरेक दसैँ तिहारको पूर्वसन्ध्यामा हरेक वर्ष यही व्यापारमा निस्कने गर्नुहुन्छ । तीन/चार दिनको पैदल यात्रापछि बझाङ सदरमुकाम चैनपुर पुग्ने गरेको बताउँदै उहाँले काठमाडौँ/पोखरा पुग्न आफूलाई हप्ता दिन लाग्ने गरेको बताउनुभयो ।

“बाटो–बाटोमा वनपखेरामा च्याङ्ग्रा चराउँदै आउनुपर्छ ।” उहाँले रासससित भन्नुभयो, “सुदूरपश्चिम बाहिर यसरी बिक्री वितरणका लागि जान थालेको आठ वर्ष भइसक्यो ।” उहाँले पोखरालगायतका क्षेत्रमा च्याङ्ग्राको मागअनुसार साइपालको व्यापार पोखरासित जोडिएको बताउनुभयो ।

“एक लटमा रु ५०/६० लाखसम्मको कारोबार पनि हुन्छ ।” उहाँले भन्नुभयो, “दुखः गरेअनुसार पारिश्रमिक आइहाल्छ ।” उहाँले च्याङ्ग्रा ढुवानीका क्रममा पालिकादेखि चराउँदा सामुदायिक वन हुँदै विभिन्न ठाउँका कर तिनुपर्ने बाध्यता रहेको सुनाउनुभयो । उहाँले हिमाली भेगमा दुःख गरेर लामो समयदेखि च्याङ्ग्रा पालनमा पशुपालक किसान सक्रिय रहे पनि आफूहरुलाई कुनैखालको सहयोग÷अनुदान नरहेको दुखेसो पोख्नुभयो ।

“थोरै मात्रै मेरो घरको भए पनि अरु सबै गाउँबाट खरिद गरेर बिक्रीका लागि च्याङ्ग्रा पोखरा लग्दैछु ।” उहाँले भन्नुभयो, “साइपालको फेदबाट पोखरा पुग्दासम्मको दुःख भनेर सम्भव छैन ।” उहाँले गरी खाने किसानलाई सरकारले सहुलियतलगायत व्यावसायिक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी बोहरासँगै ट्रक भाडामा लिएर भेडा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ कै किन्थे बोहराले गाउँमा थोरै सङ्ख्यामा किसान भेडा/च्याङ्ग्रा पालनमा रहेको बताउनुभयो । “समयमा पु¥याउन सके राम्रै खपत हुन्छ ।” छपन्न भेडा लिएर पोखरा हिँडेका उहाँले भन्नुभयो, “हामीअघि दुई/चार खेप च्याङ्ग्रा साइपालबाट पोखरा पुगिसक्यो ।”

त्यस्तै साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामीलाई दसैँमा भेडा च्याङ्ग्राको व्यापार गर्न थालेको वर्षौं भइसक्यो । बझाङ तथा दार्चुलाका भेडा च्याङ्ग्रा खरिद गरेर पोखरा, काठमाडौँलगायतका बजारमा बिक्री गर्नु उहाँको मौसमी व्यापार हो । हिमाली च्याङ्ग्रा भित्रिसकेपछि दसैँको चहलपहल सुरू हुने पोखरा अहिले च्याङ्ग्रामयजस्तै भएको छ । पोखरेलीको भान्सामा हरेक वर्ष पाक्ने च्याङ्ग्रा अहिले खरिद बिक्री भइरहेका छन् ।

पूर्वअध्यक्ष धामीसहितको टोलीले मात्रै करिब चार सयको हाराहारीमा भेडा/च्याङ्ग्रा पोखरा पु¥याइसकेका छन् । उहाँको जस्तै अन्य टोलीले पोखरामा ११ ट्रक भेडा च्याङ्ग्रा बिक्रीका ओसारिसकेका छन् । “दसैँको घटस्थापनादेखि फूलपाती भित्र्याउनसम्म भेडा च्याङ्ग्रा बिक्री हुन्छ”, पूर्वअध्यक्ष धामीले भन्नुभयो, “बिक्रीका लागि धेरै ठाउँबाट खरिद गरेर ल्याएका हुन्छौँ ।” फूलपातीसम्म पनि बिक्री भएन भने ठूलो घाटा हुन्छ उहाँले भन्नुभयो ।

उहाँका अनुसार साइपालमा एउटा भेडा च्याङ्ग्राको मूल्य रु २० देखि २५ हजार पर्छ । “साइपालमा रु २०/२५ हजार पर्ने च्याङ्ग्रा पोखरामा रु ४०/४५ हजार पर्छ”, उहाँले भन्नुभयो, “बिक्री भए मेहेनत गरेअनुसार खर्च चल्थ्यो तर गत वर्षजस्तै भए निकै घाटा हुन्छ ।” गत वर्ष उनको टोलीले पोखरा बेच्न लिएका भेडा बिक्री नभएपछि निकै घाटा भएको उहाँले सुनाउनुभयो ।

गत वर्ष महँगो भयो भनेर गलत प्रचार भएपछि ठूलो नोक्सान बेहोरेका धामीले पछि गएर किनेकै मूल्यमा पनि च्याङ्ग्रा बिक्री नभएको बताउनुभयो । अहिले धामीको टोलीले दार्चुलाबाट दुई सय २९ र बझाङबाट एक सय ६० भेडा/च्याङ्ग्रा खरिद गरेर बिक्रीका लागि पोखरा पुगेका छन् । बझाङबाट मात्रै गत हप्ता ११ ट्रक भेडा/च्याङ्ग्रा पोखरा पुगाएका छन् ।

त्यसैगरी साइपाल गाउँपालिकाकै बमबहादुर बोहरा पनि च्याङ्ग्रा लिएर पोखरा पुगेको बताउँदै उहाँले बिक्री सुरु गरेको जानकारी दिनुभयो । “हिजो १६ च्याङ्ग्रा बिक्री गरेँ ।” उहाँले भन्नुभयो, “यस पटक दुई ट्रकमा च्याङ्ग्रा लिएर पोखरा पुगेको छु ।”

शेरबहादुर सिंह-भूमिराज पिठातोली /रासस