एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्ट्स र स्पेनिस फुटबल क्लब भिल्लारियलले बराबरी खेलेका छन् ।
गएराति भएको प्रि-क्वाटरफाइनल अन्तर्गतको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेलेका हुन् ।
भिल्लारियलको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता युभेन्ट्सले लिएको थियो । खेलको पहिलो मिनेटमा नै डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका हुन् ।
तर, ६६ औं मिनेटमा डानी परेजोले गोल गर्दै भिल्लारियललाई बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन ।
अब यी दुई टिमबीचको दोस्रो लेग मार्च १६ को मध्यरातमा युभेन्ट्सको घरेलु मैदानमा हुनेछ ।
यस्तै गएराति नै भएको अर्को खेलमा इंग्लिस क्लब चेल्सीले जित निकालेको छ ।
मंगलबार राति भएको प्रि-क्वाटरफाइनल खेल अन्तर्गत पहिलो लेगमा चेल्सीले फ्रेन्च क्लब लिललाई २-० गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन खेलको आठौं मिनेटमा काई हाभेट्र्ज र ६३ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गरे ।
अब यी दुई टिमबीचको दोस्रो लेग मार्च १६ को मध्यरातमा लिलको घरेलु मैदानमा हुनेछ ।












