काठमाडौं । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा घोषणा गरेकै दिन आइतबार १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई औपचारिक प्रस्ताव आएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ साफका महासचिव अनवारुल हकले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै नेपाललाई साफ आयोजना गर्नका लागि औपचारिक प्रस्ताव गरेका हुन्।
साफबाट आइतबार प्रतियोगिता आयोजनाका लागि औपचारिक प्रस्ताव आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
च्याम्पियनसिपको विस्तृत प्रस्ताव तयार हुने र स्वीकृतिको लागि साफमा पठाउने एन्फाले जनाएको छ ।
यसअघि नेपालले सन् १९९७ र २०१३ मा साफको आयोजना गरिसकेको छ ।












