काठमाडौं । जनता समाजवादी पार्टीका सांसद अनिल कुमार झाले जेलजिवन विताईरहेका आफ्ना नेता, कार्यकर्ताहरुको रिहाइका लागि अघिल्लो सरकारले थालेको काम पुरा गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद झाले अघिल्लो सरकारले आफुहरुको माग सम्बोधन गर्ने सम्वन्धमा अगाडी बढाएको कामलाई पूर्णता दिनुपर्ने बताउनुभएको हो । उहाँले नागरिकता सम्बन्धी अध्यादेश पास गर्नुपर्ने पनि बताउनुभयो । आफ्नो सांसद रेशम चौधरी लगायत जेलमा रहेका नेता, कार्यकर्ताहरुको मुद्धा फिर्ता र रिहाई गरिनुपर्ने पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘हामीले पूर्ववर्ती सरकारलाई कम्पेल गरेर ल्याउन लगाएको नागरिकता सम्बन्धी अध्यादेश त्यो यथाशिघ्र पारित गरेर त्यसलाई वञ्चितिकरणमा परेका लाखौँ युवाहरुलाई उसको शिक्षा र रोजगारको व्यवस्था हुने बाटो यो सरकारले शिघ्र खोलिदिनु पर्दछ । त्यसैगरी मधेश आन्दोलनका सम्बोधन हुन बाँकी रहेका मुद्धाहरु र लामो समयदेखि जेल जिवन विताइरहनुभएका संघीय संसदका सदस्य रेशम चौधरीको रिहाई र उहाँ लगायतका अन्य धेरै जेल जिवन विताएकाहरुको रिहाई र मुद्धा फिर्ता लिन पूर्ववर्ती सरकारबाट भएका कार्यहरुलाई अगाडी बढाउन र यसलाई कम्प्लिट गर्न म पार्टीको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहान्छु ।’
सांसद झाले बाढी र पहिरो पीडितको राहत तथा जीवन रक्षा गरिनुपर्नेमा पनि जोड दिनुभयो । खेतीपातिको समयमा मलको अभाव भएको भन्दै मलखादको व्यवस्था गर्न समेत उहाँले माग गर्नुभयो । त्यसैगरी, नेपाल – भारत सिमामा कोभिड – १९ को महामारीको कारण बन्द भएकोमा त्यसलाई सहज बनाइनुपर्ने उहाँले बताउनुभयो ।












