काठमाडौं। काठमाडौंस्थित पाकिस्तानी दूताबासले सोमबार काश्मीर ऐक्यबद्धता दिवस मनाएको छ ।
दूताबास परिसरभित्र आयोजना गरिएको कार्यक्रममा काश्मिर ऐक्यवद्धता दिवसको अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको सन्देश पढेर सुनाइएको थियो । सन्देशमा पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले काश्मिरी जनताको आत्मनिर्णय र न्यायको लडाईमा पाकिस्तानले सदैव साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले काश्मीरी जनताको आत्म निर्णयको अधिकारका लागि पाकिस्तानले सबै खालको सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनु भएको छ ।
त्यसैगरी पाकिस्तानका प्रधानमन्त्री मोहम्मद सहबाज सरिफले काश्मीरको समस्या काश्मीरी जनताको मतबाट टुंगो लगाउने संयुक्त राष्ट्रसंघको प्रस्तावको कार्यान्वयन गराउन दबाब दिन अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल पनि गर्नुभएको छ ।
कार्यक्रममा दूताबासका कार्यबाहक राजदूत उमेर अलीले जम्मु–काश्मीरका जनताको शान्तिपूर्वक बाँच्न पाउने अधिकार र आत्म निर्णयको अधिकारका लागि राष्ट्रसंघीय प्रस्ताव पारित गराउन अन्तर्राष्ट्रिय समुदायको पनि सहयोगको खाँचो औंल्याउनुभयो ।












