काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समृद्धिको ढोका खोल्न नयाँ दिल्ली आएको बताउनु भएको छ । एलामिछानेले यस भ्रमणका क्रममा आफ्नो कुनै व्यक्तिगत तथा राजनीतिक मुद्दा नभएको स्पष्ट पार्नुभएको छ ।
५ दिने भ्रमणका क्रममा दिल्ली रहनु भएका सभापति लामिछानेले भारतमा रहेका नेपालीहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देशको उन्नती नै आफ्नो भ्रमणको उद्देश्य रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो ‘नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न त धेरै मानिसहरू आए। म यस पटक समृद्धिको ढोका खोल्न नयाँ दिल्ली आएको हुँ । समृद्ध नेपाल जुन एउटा सपना, जुन हामीले सिङ्गो युगदेखि देखिरहेका थियौँ, त्यसमा सहकार्य गर्ने एजेन्डा बोकेर म यहाँ आएको हुँ । उनले भने, ‘मेरा व्यक्तिगत मुद्दा केही पनि छैनन्, पार्टीगत मुद्दा केही पनि छैनन् । मेरो मुद्दा नेपाल र नेपालीको उन्नतिमा मात्र केन्द्रित छ ।’
उहाँले आफू वैदेशिक रोजगारीमा जानेहरुको पीडासँग जानकार रहेको बताउँदै प्रवासी नेपालीको समस्या समाधान गर्ने समेत बताउनु भयो ।
भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री डा. एस. जयशंकर, भाजपा अध्यक्ष लगायतसँग भेटवार्ता गरेका थिए । दिल्लीको कार्याक्रमलाई सम्बोधन गरी लामिछाने अयोध्यातर्फ प्रस्थान गर्नुभएको छ । लामिछाने सहितको टोली शुक्रबार साँझ नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।












