काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ हुनुभएको छ । उहाँको ललितपुरको किस्ट अस्पतालमा उपचार भइरहेको सो अस्पतालले जानकारी दिएको छ ।
उहाँलाई स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको परिवार स्रोतले जनाएको छ । छातीको संक्रमण, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि उहाँलाई जेठ २६ गते नै अस्पताल भर्ना गरिएको थियो ।
उहाँको छातीमा निमोनियाको संक्रमण देखा परेकोले उपचार सुरु गरिएको अस्पतालले प्रेस विज्ञप्ति निकालेर जानकारी दिएको छ । हाल स्वासप्रश्वासको स्थिति र मुटुको चाल स्थिर रहेको छ र अरु केही दिन उहाँलाई अस्पतालमै राखी उपचार जारी राखिने सो अस्पतालको विज्ञप्तिमा भनिएको छ ।
तर उहाँको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको पनि सो अस्पताले जनाएको छ ।
उहाँ १०२ वर्षको हुनुहुन्छ । उहाँको उपचारमा छाती रोग विशेषज्ञ प्रा। डा। मीलेश जंग सिजापतिको नेतृत्वमा कार्डियोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञको संयुक्त टोली संलग्न रहेको किस्ट अस्पतालले जनाएको छ ।















