२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसमक्ष दुई आयोगका प्रतिवेदन प्रस्तुत



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोग र मधेसी आयागका प्रतिवेदन प्रस्तुत भएका छन् ।

राष्ट्रपति कार्यालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आयोगको १६औँ वार्षिक प्रतिवेदन र मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आफू नेतृत्वको आयोगको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले महिलाको हकहित, लैङ्गिक समानता, महिला सशक्तिकरणसँग सम्बन्धित विषयमा आयोगको जिम्मेवारी र दायित्व गहन रहेको बताउँदै धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशालाग्दो देखिए पनि जनसङ्ख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नरहेको बताउनुभयो ।

“राष्ट्रिय जीवनका अन्य महत्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी बनाउनुपर्ने भएको छ, आगामी दिनमा महिला आयोगले अझ सशक्त र प्रभावकारी रुपमा कार्यसम्पादन गर्नेमा म विश्वस्त छु”, उहाँले भन्नुभयो ।

आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने क्रममा प्रस्तुत प्रतिवेदनका महत्वपूर्ण विषयलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले गाउँघरमा पछाडि परेका महिलाको जीवनस्तर उकास्न सामाजिक अभियान चलाउन आवश्यक भएकामा जोड दिनुभयो ।

यसैगरी, राष्ट्रपति पौडेलले मधेसी आयोगको प्रतिवेदन ग्रहण गर्दै मधेसमा पनि सिङ्गो देशकोजस्तै भाषिक र सांस्कृतिक विविधता रहेको बताउनुभयो । उहाँले नेपालको तराई क्षेत्रमा युगौँदेखि बसोबास गर्दै आएको मधेसी समुदायको भाषा, संस्कृति, वेषभूषा, परम्परा, सभ्यता र संस्कार देशको विविधताजस्तै विविधतापूर्ण रहेको बताउनुभयो ।

राष्ट्रपतिले भन्नुभयो, “नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । मधेसमा पनि भाषा, संस्कृति, वेषभूषा, परम्परा, सभ्यता र संस्कारमा सिङ्गै देशको जस्तै विविधता छ । मधेसमा बोलिने भाषा, त्यहाँका संस्कृति व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम हो ।”

राष्ट्रपतिले देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवम् सहअस्तित्वका आधारमा विभिन्न जातजाति समुदायको भाषा, लिपि, संस्कृति, साहित्य कला र सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरणसम्बन्धी नीति रहेको बताउनुभयो । रासस