काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले टाठाबाठा मात्र सुखी सम्पन्न सुविधाभोगी हुँदै जाने अरु निमुखा सर्व साधारणाहरुको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिबिधि र पद्धति त्याग्नुपर्ने बताउनुभएको छ ।
नयाँ वर्षको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै उहाँले विज्ञप्तीमार्फत यस्तो अभिव्यक्ति दिनुभएको हो ।
यस्तै उहाँले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी हामी सबैमा हुनुपर्ने बताउँदै यसका निम्ति आपसी भाँडभैलो अनमेल र द्वन्दको अन्त हुनुपर्ने र समन्वय, सामञ्जस्य पनि रहनुपर्ने बताउनुभएको छ ।
यस्तो छ नयाँ वर्षको अवसरमा पूर्वराजाको सन्देश (पूर्णपाठ)
नेपाली दिदी वहिनी तथा दाजू भाइहरु,
आज हामी अर्को नयाँ वर्ष विक्रम सम्वत् २०७८ मा प्रवेश गर्दैछौँ । सदा झैं हामी नेपाल भित्र र विश्वका विभिन्न भुभागमा रही बसेका समस्त नेपालीहरुमा सुख, शान्ति तथा समून्नतिको लागि हार्दिक शूभकामना व्यक्त गर्दछौँ ।
हरेक तीथि बार बित्दै जाँदा नयाँ वर्ष आउँदै जान्छ, स्वभावत हरेक नयाँ वर्षमा सूख, सम्मून्नति, शान्ति र सन्तुष्टिको अपेक्षा हाम्रो रहन्छ तर समय बित्दै जाँदा ती सबै आशा, अभिलाषा चकनाचुर हुँदै जान्छन् । कालक्रममा यस्तो हुनु हुन्न र नेपाली जनताको आकांक्षा पुरा हुँदै जानू पर्दछ भन्ने हाम्रो कामना हो ।
राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी हामी सबैमा हुनुपर्ने बताउँदै यसका निम्ति आपसी भाँडभैलो अनमेल र द्वन्दको अन्त हुनुपर्ने र समन्वय, सामञ्जस्य पनि रहनुपर्दछ ।
हाम्रा पिता पुर्खा तथा त्यागी वीर वीरांगनाहरुले जोगाएको हाम्रो साझा वारी नेपाललाई सबै मिलेर स्याहार सुसार गर्नु र सजाउनु छ । यसका निम्ति हिमाल, पहाड, तराई सबै नेपाली विना भेदभाव र विना संकोच मिलेर जानुछ । अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन एवं वैदेशिक प्रभाव र पर निर्भरता त्याग्दै जानू पर्ने आवश्यकता हो । टाठाबाठा मात्र सुखी सम्पन्न सुविधाभोगी हुँदै जाने अरु निमुखा सर्व साधारणाहरुको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिबिधि र पद्धति पनि त्याग्नै पर्ने हुन्छ ।
नेपाली हामी फुटेर होइन, शक्ति संरक्षण गरौँ जुटेर । एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ । हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन । सबैको एउटै उदेश्य हूनू पर्दछ, एउटै कामना हुनुपर्दछ । देशको उन्नति र अधोगति हामीहरुकै हातमा छ । पहिले देश अनि मात्र आफू भन्ने भावना हामी सबैमा हूनू अत्यावश्यक छ । हामीले कर्तव्य पुरा गर्यौँ भने हामी उठ्छौं । निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउनै पर्दछ । मेची महाकाली – देश बचाउने हाम्रो पाली । नेपाल हाम्रो पहिचान हो – सनातन हाम्रो संस्कार हो । न जाती न भाषा ( सबै नेपालीको एउटै आशा । पहाडका गाउँ गाउँमा आधूनिकताको लहर बिस्तार गरौं, तराईका फाँटहरुलाई झुलाउँ र हिमाली तथा उच्च पहाडी क्षेत्रमा फलफुल प्रशोधन बढाऔं, जडिबूटी उद्योग खोलौं र देशलाई आफ्नै स्रोतशक्तिबाट धनधान्यपूर्ण पारौं ।
यिनै भावनाकासाथ नयाँ वर्ष साच्चिकै नयाँ रहोस् र नयाँ वर्षले वास्तवमै हामीहरुका शोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याओस् ।
श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।












