काठमाडौं । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्।
आज (मंगलबार) राजीनामा दिने मन्त्रीहरुमा अर्थ तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा रहेका छन् ।
राजीनामा दिने तीनै जना नेकपा (एमाले) माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका हुन्। एमाले कर्णाली संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे पनि उनीहरूले राजीनामा दिएका थिएनन् ।
यता एमालेका तीन मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेको छ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा माओवादीका १३ सांसद छन्। २० सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि शाही अल्पमतमा परेका छन्।
यस्तै कांग्रेसका ६ र राप्रपाको एक सांसद छन्। अन्य दलको एक सीट मात्र भए सरकार गठनका लागि एमालेलाई पुग्ने देखिन्छ ।












