२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकासमा सहकार्य गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ: उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता प्रवर्द्धनमा नयाँ ‘मोडल’ विकास गर्न सङ्घ र प्रदेश सरकार तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा जोड दिनुभएको छ । भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडाैँ महानगरपालिकाले आज भूगोलपार्कमा आयोजना गरेको कार्यक्रममा उहाँले उक्त मोडल नेपालका सबै पालिकाका लागि अनुकरणीय हुने बताउनुभयो ।

संविधानले विपद् व्यवस्थापनलाई मुलत: स्थानीय तहको एकल अधिकारको सूचीका साथै सबै तहको साझा सूचीमा  राखेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले विपद् व्यवस्थापन सबै तहका सरकारको दायित्व भएको बताउनुभयो । “सङ्घीय सरकार पालिकालाई सामथ्र्यवान् बनाउन मिलेर काम गर्न तयार छ”, उहाँले भन्नुभयो, “सङ्घीय सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सबै स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई औजार तथा उपकरण उपलब्ध गराउँदै आएको छ ।”

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्वंसेवकको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले  स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । उहाँले काठमाडौँ महानगरले स्वयंसेवीको परिचालन र तालिममा पहल गरेकामा खुसी व्यक्त गर्नुभयो ।

जाजरकोट भूकम्पलगत्तै काठमाडौँ महानगरपालिकाले पुर्याएको सहयोगको सरहाना गर्दै उपप्रधानमन्त्री श्रेष्ठले साधन र स्रोतका हिसाबले अग्रणी कामपाको यस्ता कार्यले आगामी दिनमा निरन्तरता पाओस् भनी शुभेच्छा प्रकट गर्नुभयो । राजधानी रहेको महानगर पनि भएकाले काठमाडौँ महानगरको कदम अन्य पालिकाका लागि अनुकरणीय हुने उहाँले बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “विद्यमान संरचना कति सुरक्षति छन्, कति असुरक्षित छन् भनेर जोखिम आकलन गर्ने, असुरक्षित रहेका भवनको प्रबलीकरणलगायत विधि प्रयोग गरी सुरक्षित बनाउने र नयाँ बन्ने भवन तथा संरचना भूकम्पबाट सुरक्षित हुनेगरी संहिता पालना गर्न गराउनमा महानगरले अग्रणी भूमिका खेल्ने विश्वास छ ।”

काठमाडाैँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले नेपाल भूकम्पको जोखिममा रहेकाले भूकम्प प्रतिरोधी संरचना निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । भूकम्पलगायत विपद्जन्य घटनाबाट नागरिकलाई जोगाउन तीनै तहका सरकारको समन्वयात्मक भूमिका आवश्यक रहेकामा जोड दिँदै उहाँले स्थानीय प्रविधिको प्रयोग गरी बाबजुद संरचना निर्माण गरिनुपर्ने बताउनुभयो ।

विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा विसं २०५५ देखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २:२४ बजे गएको आठ दशमलव चार म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार  १९९० सालको भूकम्पमा परी आठ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो । उक्त भूकम्पबाट ८० हजार घर ध्वस्त भएका थिए । ध्वस्त घरसहित, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवन गरी दुई लाख सात हजार दुई सय ४८ संरचना भत्किएका थिए ।

यसैगरी विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पमा परी आठ हजार छ सय ७० जनाको निधन भएको थियो भने सात लाखभन्दा बढी आवासमा क्षति पुगेको थियो । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठलगायतले १९९० सालयताका भूकम्पमा परी मृत्युवरण गर्नुभएका व्यक्तिको सम्झनामा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । रासस