८ असार २०८३, सोमबार
,
Latest
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाममा ११ बजेपछि मतगणना, ११ वटा सीसी क्यामरा जडान



अ+ अ-

काठमाडौं । उपनिर्वाचन भएको प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ को मतगणना ११ बजेपछि सुरु गरिने भएको छ ।

आज बसेको सर्वदलीय बैठकले ११ बजेपछि मतगणना गर्ने सहमति गरेको हो । बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना दिउँसो मात्रै हुने भएको छ ।

इलाम–२ को मतगणना सदरमुकामको गौतमबुद्ध सभागृह हुनेछ । मतगणना स्थलमा ११ वटा सीसीटिभी क्यामरा जडान गरिएको छ ।

इलाम–२ को मतगणना शनिबार नै रातिदेखि सुरु गर्ने भनिएको थियो । तर चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको मतपेटिका राति पौने तीन बजे मात्र सदरमुकाम ल्याउन सकिएकाले आज गर्न लागिएको हो ।

इलाम क्षेत्र नम्बर २ का १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोटको आधारमा इलाम २ मा ६० प्रतिशत मत खसेको विवरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

इलाम क्षेत्र नं. २ मा १९ जना उम्मेदवारबीच प्रतिस्पर्धा छ । नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

यसैगरी बझाङको मतगणना पनि आजै सुरु हुने छ । साइपाल, एराङकुरी र दुलीका मतपेटिका सदरमुकाम ल्याइँदै छ । मतपेटिका लिन सदरमुकामबाट हेलिकोप्टर गएको छ । सबै मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने छ ।

बझाङमा जिल्ला अदालतमा मतगणना हुने छ । बझाङको प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ मतदान भएको थियो ।

प्रदेश सभा सदस्यको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट जनकबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट दिलबहादुर सिंहसहित ११ जना प्रतिस्पर्धामा छन् ।