काठमाडौं । नेपालमा कोरोना संक्रमण पछिल्लो समयमा केही घटेको जस्तो देखिएको छ । तर संक्रमण घटेकै हो कि मानिसले स्वास्थ्य जाँच नगराएका हुन् भन्ने अनुसन्धान यहाँ भएको छैन । अनि अर्काे कुरा संक्रमितको संख्या घट्दै जानुको अर्थ के यो महामारीमा कमी आएको हो त ? यो प्रश्नको जवाफ दिने बेला पनि अझै भएको छैन भन्छन् जनस्वास्थ्यविद्हरु । त्यसो भए सर्वसाधारणले के गर्ने त ? सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोलाले पछिल्लो समय प्राप्त गरेको कोरोना महामारीको अनुभवलाई आज आफ्नो फेसबुक स्टाटसमा यसरी लेखेका छन् :
'कोभिड निमोनियाको लक्षण लिएर मंसिर ११ मा अस्पताल आउनु भएकी ५० वर्षीया एकजना आमाको पीसीआर नेगेटिभ थियो । तत्काल गरिएको एन्टिजेन टेस्ट नेगेटिभ नै आयो । अन्ततस् एन्टिबडी टेस्ट पनि पोजिटिभ आयो । यसको अर्थ हो, उहाँको शरीरमा कोभिड एन्टिबडी तयार भइसकेको थियो ।
पीसीआर र एन्टिजेन नेगेटिभ अनि एन्टिबडी पोजिटिभ भएको बिरामीलाई कसरी कोभिड अस्पतालमा उपचार गर्ने तरु हामी धर्म संकटमा पर्यौं । तर, कोभिडले श्रीमान सिकिस्त हुँदा हेरचाह गरेको (संक्रमितसँग प्रत्यक्ष सम्पर्क) र एक्सरेमा कोभिड निमोनिया रहेको आधारमा आईसीयूमा राखेर उहाँको उपचार थालियो ।
आईसीयूमा एक साता र त्यसपछि कोभिड वार्डमा उपचारपछि उहाँ १५ दिनका दिन डिस्चार्ज हुनु भयो । तर, यो घटनाले हामीलाई झक्झक्याएको छ । लक्षण देखिएका तर पीसीआर नेगेटिभ भएका व्यक्ति सचेत हुन जरुरी छ । परीक्षण नेगेटिभ आएपछि कोभिड नै होइन भनेर निमोनिया भइसकेका बिरामी कोभिडको उपचारबाट वञ्चित हुने अवस्था आउन सक्छ ।
लक्षण भएका तर, अस्पताल ढिलो आइपुग्ने बिरामीलाई पीसीआर नेगेटिभ देखिए पनि निमोनियाले गाँजेको हुन सक्छ । ५० वर्षीया आमाजस्तै पीसीआर नेगेटिभ अन्य केही कोभिडका बिरामी उपचाररत हुनुहुन्छ । त्यसैले पीसीआर नेगेटिभ छ भनेर वास्तै नगर्ने र पोजिटिभ आउनासाथ बिरामी भएँ भन्दै आत्तिने काम नगरौं ।
विश्वव्यापी पछिल्ला अनुसन्धानले कोभिड(१९ को संक्रमण पुष्टि भएको ९ दिनपछि शरीरमा जीवित भाइरस नरहने देखाएका छन् । त्यसैले कोभिड पोजिटिभ र नेगेटिभको गोलचक्करमा रुमल्लिनु भन्दा आफूमा देखिएका लक्षणलाई महसुस गरौं । कडा लक्षण छन् भने अस्पताल पुग्न ढिला नगरौं । आफू बचौं अरूलाई पनि बचाऊँ ।'












