१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ उपत्यकाको हालत- हप्तौंसम्म हुँदैन कन्ट्याक्ट ट्रेसिङ



अ+ अ-

काठमाडौँ । काठमाडौंको डल्लुका ५४ वर्षीय पुरुषलाई भदौ ७ मा कोरोना संक्रमण पुष्टि भयो । रिपोर्ट पोजिटिभ आएको भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का कर्मचारीले उनलाई अस्पताल जानका लागि तयार रहनु भन्दै बिहानै फोन गरे ।

परिवारले उनलाई घरमा छुट्टै कोठामा सावधानीपूर्वक राखे र ईडीसीडीबाट एम्बुलेन्स आउने पर्खाइमा बसे । ‘बुवालाई संक्रमणको लक्षण देखिइसकेको थियो । उच्च ज्वरो र खोकी थियो । उहाँ मधुमेहको बिरामीसमेत हुनुहुन्थ्यो,’ संक्रमितकी छोरीले भनिन्, ‘दिनैभर एम्बुलेन्स आएन । बेलुकातिर मात्रै अस्पताल लगे ।’ संक्रमितलाई अस्पताल लगिएको एक साता बित्यो, उनको परिवारको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण भने गरिएको छैन ।

ती संक्रमितको घरमा ११ जना छन् । एक जना क्यान्सरकी बिरामी पनि छिन् । घरमा भएका दुई जनालाई ज्वरो र खोकी लागिसकेको संक्रमितकी छोरीले बताइन् । ‘घरमा खानेकुरा छैन । हामीलाई छिमेकीले बाहिर निस्कन पनि दिएका छैनन्,’ उनले भनिन्, ‘ईडीसीडीमा फोन गर्दा वडामा भन्नू भन्छन् । वडामा फोन गर्दा अहिल्यै आउँछौं भन्छन् । तर, कोही आउँदैनन् । कहिलेसम्म हामी डरैडरमा घरभित्र थुनिएर बस्ने हो ?’

काठमाडौं वडा नम्बर २३ का ३५ वर्षीय पुरुषलाई साउन ३१ मा कोरोना संक्रमण पुष्टि भयो । कन्ट्याक्ट ट्रेसिङ नभएपछि उनको परिवारका १० जनाले आफ्नै खर्चमा पीसीआर परीक्षण गरे । ‘घरमा आमा थाइराइड र मधुमेहकी बिरामी हुनुहुन्छ । भेटघाट भइराख्नुभएका ५७ वर्षीय ससुरालाई उच्च रक्तचापको समस्या थियो । जोखिम हुन्छ भनेर डर लाग्यो तर ट्रेसिङ हुँदै भएन । अनि कुपन्डोलस्थित विध ल्याबमा जनही ४५ सय तिरेर आफैं परीक्षण गरायौं,’ ती पुरुषले भने ।

उनको घरमा १० जनाको परीक्षण गर्दा ८ जनाको रिपोर्ट पोजिटिभ आयो । स्थानीय तहको ट्रेसिङ टोलीले भने दस दिनपछि मात्रै उनीहरूलाई फोन गरेर स्वाब संकलन गराउने बताए । ‘स्वाब संकलन गर्न पनि कोही आएन । घरमा भाडामा बस्नेहरूले वडामा पुगेर आफैं स्वाब दिए,’ उनले भने ।‘ट्रेसिङमा परेका मान्छे घरबाहिर निस्केर आफैं परीक्षण गराउन, रिपोर्ट लिन जानुपर्ने अवस्था छ, कस्तो लापरबाही हो रु,’ उनले भने । लक्षण नभएका संक्रमित घरमै बसे पनि वडाबाट कहिल्यै फोन नगर्ने, बिरामीको अवस्थाबारे नसोध्ने गरेको उनले बताए ।

ईडीसीडीका निर्देशक डा। वासुदेव पाण्डेका अनुसार संक्रमित भेटिएको २४ देखि ४८ घण्टाभित्र कन्ट्याक्ट ट्रेसिङ गरिसक्नुपर्छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरू पत्ता लागाएर ५ दिनभित्र उनीहरूको स्वाबको नमुना संकलन गरिसक्नुपर्छ । तर व्यवहारमा त्यस्तो देखिँदैन । ‘अहिले उपत्यकामा संक्रमण धेरै छ, ट्रेसिङ गर्ने जनशक्ति कम छ । सिस्टम पनि धेरै छ,’ डा।पाण्डेले भने, ‘एक जना संक्रमितलाई फोन गर्न कम्तीमा आधा घण्टा लाग्छ । संक्रमित नै धेरै भएकाले ट्रेसिङमा ढिलाइ भइरहेको छ ।’ तालिमप्राप्त जनशक्ति बढाएर कन्ट्याक्ट ट्रेसिङ छिटो र प्रभावकारी बनाउनतर्फ ईडीसीडीले पहल गरिरहेको उनले बताए ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको छ । तर आइतबार मात्रै काठमाडौंमा ३ सय ७२, ललितपुर १२ र भक्तपुरमा ४५ जना गरी ४ सय २९ संक्रमित थपिएका छन् । कोरोना भाइरसलाई फैलनबाट रोक्नका लागि अति आवश्यक मानिएको कन्ट्याक्ट ट्रेसिङ भने उपत्यकामा व्यवस्थित र सही तरिकाबाट भइरहेको छैन । यही कारणले पनि संघीय राजधानी काठमाडौं मुलुककै ‘हटस्पट’ बन्दै गएको छ ।

उपत्यकामा हाल कुल सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय ८४ छ भने ३४ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये काठमाडौं जिल्लामा सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय २० छ । यसबाहेक ३ सय ९३ जना निको भए भने २१ जनाको ज्यान गयो । ललितपुरमा सक्रिय संक्रमितको संख्या ५ सय ४४ छ, ६७ जना निको भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ । भक्तपुर जिल्लामा ४ सय २० जना सक्रिय संक्रमित छन् । ५० जना भने निको भइसकेका छन् र ७ जनाको मृत्यु भएको छ ।

कन्ट्याक्ट ट्रेसिङको समन्वय गर्ने जिम्मा पाएको ईडीसीडीका सूचना अधिकारी तथा वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीका अनुसार पनि स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिएको छ । ‘हामीले त ट्रेसिङ कसरी गर्ने भनेर निर्देशिका बनाइदिने हो । ईडीसीडीमा देशभरको रिपोर्ट आइसकेपछि जिल्लाको स्वास्थ्य कार्यालयमा पठाइन्छ, त्यसपछि उनीहरूले नगरपालिका, वडा लगायतमा समन्वय गरेर सहजीकरण गर्छन्,’ उनले भने, ‘केही कमजोरी भएको होला । काम हुँदै नभएको होइन, भइरहेको छ ।’ उनका अनुसार अहिले रिपोर्टिङ समयमा नहुने प्रमुख समस्या छ । त्यसमा पनि सुधार गर्दै लगिएको उनले दाबी गरे । उपत्यकाभित्र अझै व्यवस्थित गर्न सम्बन्धित निकायका प्रमुखहरूसित पनि छलफल गरिएको उनले बताए ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले मानिसलाई कन्ट्याक्ट ट्रेसिङबारे बुझाउन नसकिएकोले पनि धेरै गुनासो आइरहेको बताए । कुनै टोलमा एक जनालाई पोजिटिभ देखियो भने टोल नै सिल गर्ने र भएभरका मान्छेको स्वाब छिट्टै संकलन गर्न भनी दबाब आउने गरेको उनले बताए । ‘हामीले त एकदम नजिकको सम्पर्कमा आएकाको पो स्वाब लिने हो, सबैको त सम्भव हुँदैन । स्वाब लिएको रिपोर्ट नआउन्जेल बाहिर नडुल्न सुझाव दिए पनि मान्दैनन् । त्यसैले पनि संक्रमण बढेको हुन सक्छ,’ उनले भने ।

कन्ट्याक्ट ट्रेसिङ गर्दा आउने अर्को समस्या भनेको स्वाबको नमुना दिँदा भर्नुपर्ने फारमको विवरणमा सामान्य मान्छेले मात्रै होइन समाजका टाठाबाठाले पनि ढाँटेको भेटिएको छ । फारम भर्दा सूचना पनि पूरा नदिने समस्या देखिएको उनले बताए । स्थानीय तहमा कसरी काम भइरहेको छ भनेर अनुगमन गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरेको उनले दाबी गरे । ‘उपत्यकाभित्र सबै नगरपालिकामा एक–एक जना कोभिड–१९ को समन्वयकर्ता भनेर २१ जनालाई खटाएका छौं । उनीहरूले कन्ट्याक्ट ट्रेसिङ, होम आइसोलेसन, केस व्यवस्थापन, रिपोर्टका कुरा नजिकबाट अनुगमन गर्छन्,’ उनले भने । कान्तिपुरमा समाचार छ ।